टेलिफोन वा फेसबुकबाट धम्की नदिनुस्, एक वर्ष जेल पर्नुहोला
हेटौँडा, २९ साउन । तपाईले कसैलाई टेलिफोनमा धम्की दिने गर्नु भएको छ ? तपाईलाई थाहा छ कि छैन, तपाईको फोनको रेकर्ड टेलिकमसँग सुरक्षित हुन्छ, सुरक्षाको सवालमा प्रहरीले जुनसुकै बेला टेलिफोन रेकर्ड सुन्न सक्छ ।
त्यस्तै फेसबुकमा भएको च्याट हिस्ट्री पनि तपाईले डिलिट गरे पनि जुनसुकै बेला निकाल्न सकिन्छ । तपाईले टेलिफोन वा फेसबुकबाट धम्की दिएमा तपाईलाई १ वर्ष कैद वा १० हजार जरिवानाको लाग्न सक्छ । आउँदो भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध (संहिता) ऐनले यस्तो व्यवस्था गरेको छ । कसैलाई डर त्रास, हैरानी दिने, अपमान गर्ने, बेइज्जत गर्ने उद्देश्यले चिठीपत्र, पर्चा वा कुनै लिखत लेखाउने र विद्युतीय माध्यमबाट धम्की दिने, सताउने जिस्क्याउने वा अनुचित व्यवहार गर्नेलाई यस्तो सजायको व्यवस्था गरिएको छ ।
