प्राकृतिक विपद्का कारण ५ सय २९ जनाको ज्यान गयो

तु खबर संवाददाता
२०७५ श्रावण २९, मंगलवार ०८:५२
file-photo

काठमाडौं २९ साउन । पछिल्ला चार महिनामा प्राकृतिक विपद्का कारण मात्रै ५ सय २९ जनाको ज्यान गएको छ । झन्डै दुई अर्ब रुपैयाँबराबरको धनमालको क्षति भएको छ । भारी वर्षा, बाढी, पहिरोका कारण सबैभन्दा धेरै जनधनको क्षति भएको गृह मन्त्रालयको तथ्यांकले देखाउँछ । चार महिनामा यी तीन कारणले ज्यान जानेको संख्या ३०० छ । १ अर्ब ९९ करोड १ लाख मूल्यबराबरको धनमालको क्षति भएको छ ।

‘नेपालमा प्राकृतिक विपत्तिका घटना खासगरी १५ जेठदेखि १५ भदौसम्म तीन महिना बढी हुने गरेको देखिन्छ । मनसुनको अवधि भएकाले बाढी र पहिरो बढी जान्छ । नदी तथा खोलाको बहाव पनि यही वेला बढ्छ । यो अवस्थामा प्राकृतिक विपत्ति निम्तिन्छ र दुःखद् घटना हुन पुग्छन्,’ प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले भने ।

एक हजार सात सय १९ घटना, ८८ जना बेपत्ता
गृहको तथ्यांकअनुसार चार महिनाको अवधिमा प्रकृतिक विपत्तिका १ हजार ७ सय १९ घटना भए । घटनामा परी ८८ जना अझै बेपत्ता छन् । २ हजार २ सय ८७ सर्वसाधरण घाइते भए । ४ हजार १ एक सय ९४ घरपरिवार प्रभावित भए । १ हजार ९ सय ८४ घरमा क्षति पुगेको छ । प्राकृतिक विपद्मा मुलुकभर १ हजार ५ सय ४९ चौपाया मरेका छन् भने २ सय ३२ गोठ नष्ट भएका छन् ।

७ वर्षमा साढे १२ हजारको मृत्यु
गृहको तथ्यांकअनुसार ७ वर्षको अवधिमा प्राकृतिक विपद्मा १२ हजार ७ सय ६२ ले ज्यान गुमाएका छन् । यो अवधिमा सबैभन्दा धेरै ०७२ मा भूकम्पका कारण क्षति भएको छ । भूकम्पमा मात्रै ८ हजार ९ सय ७० जनाको त ज्यान नै गयो ।

सात वर्षमा प्राकृतिक विपद्मा बेपत्ता हुनेको संख्या एक हजार पुगेको छ । बेपत्ता हुने पनि सबैभन्दा धेरै भूकम्पकै वेला धेरै छन् । यस अवधिमा मुलुकभर १ सय ९७ सर्वसाधारण बेपत्ता हुन पुगेका थिए ।
आजको नयाँ पत्रिकामा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*