मनहरी गाउँपालिकाले बोटे बस्तीमा पुगेर पोशाक र कापीकलम दियो
मनहरी २७ साउन । अल्पसंख्यक बोटे समुदायका बालबालिकाहरुको शैक्षिक समस्या समाधान गर्नका लागि मनहरी गाउँपालिकाले मनहरी गाउँपालिका ७ स्थित चौधघरेमा छात्रबृत्ति बितरण गरेको छ ।
गाउँपालिका अन्तर्गतको बाल संरक्षण समितिले बोटे समुदायमै पुगेर बालबालिकालाई पोशाक, कापी कलम तथा शैक्षिक सामग्री बितरण गरेको हो । ७ नं वडा अध्यक्ष ठाकुरराम तितुङको सभाध्यक्षतामा भएको छात्रबृत्ति बितरण तथा हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष उप्रेतीले शिक्षा बिना कुनै पनि क्षेत्र सफल नहुने भएकाले शिक्षादिक्षालाई अनिबार्य गरी सन्ततिको भविष्य सुन्दर बनाउन लाग्नुपर्नेमा अभिभावकहरुलाई अनुरोध गरे । उनले गाउँपालिकाले संधै अल्पसंख्यक बोटे समुदायका लागि सकारात्मक सहयोग गरिरहेको भन्दै १४ घर बोटेका निम्ति नमूना घर निर्माणको काम सुरु हुने बताए ।
स्थानीय ब्रह्मकाली निमाविमा अध्ययनरत ३४ जना बिद्यार्थीलाई हौसला बढाउनका लागि कापीकलम, पोशाक तथा शैक्षिक सामग्री बितरण गरिएको बाल संरक्षण समितिकी संयोजक एबम् मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले बताइन् । कार्यक्रममा बाल संरक्षण समितिका सदस्यहरु देवकी ढुंगाना, उमा नेपाली, पशुपति सामुदायिक बन उपभोक्त समूहका अध्यक्ष रघुनाथ रुम्बा मनहरी एफएमका स्टेशन म्यानेजर शिवकुमार काशी, लगाएतको उपस्थिति रहेको थियो ।
