खाडी जाने नेपाली कामदारलाई यसरी ठग्छन् मेडिकल संस्थाले, यी हुन् ठग्ने संस्था (विवरण सहित)

तु खबर संवाददाता
२०७५ श्रावण २७, आईतवार ०८:४१
file photo

काठमाडौं २७ साउन । वैदेशिक रोजगारका लागि खाडी मुलुक जाने कामदारबाट सिन्डिकेटका नाममा दुई दशकको अवधिमा करिब साढे ५ अर्ब रुपैयाँ ठगी भएको पाइएको छ । साउदी अरेबिया, ओमन र बहराइन गएका १२ लाख १८ हजार ४ सय ४२ जना कामदारबाट गाम्का नेपाल नामक सिन्डिकेटआबद्ध मेडिकल संस्थाहरूले सो रकम ठगी गरेका हुन् ।

यी तीन मुलुकमा जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट खडा गरी गाम्का नेपालआबद्ध १२ मेडिकल संस्थाले कामदारबाट ठगी गर्दै आएका छन् ।

साउदीको सिन्डिकेट ओमन र बहराइनसम्म फैलियो
०७१ अघिसम्म गाम्का नेपालले साउदी अरेबिया जाने कामदारको स्वास्थ्य परीक्षणमा एकाधिकार कायम गरेको थियो । त्यसयता भने गाम्कामा आबद्ध मेडिकलले बहराइन र ओमन जाने कामदारको स्वास्थ्य परीक्षणमा समेत सिन्डिकेट विस्तार गरेका छन् । ‘गल्फ को–अपरेसन काउन्सिल’ जिसिसी अन्तर्गतको सम्बन्धित देशका स्वास्थ्यमन्त्री सदस्य रहेको समितिबाट स्वीकृति लिएर गाम्काले नेपालमा सिन्डिकेट खडा गरेको छ । वैदेशिक रोजगारका लागि साउदी, ओमन र बहराइन जाने कामदारबाट गाम्कामा आबद्ध मेडिकलले सरकारी नियमभन्दा बढी शुल्क लिँदै आएका छन् ।

सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि २ सय ३५ वटा स्वास्थ्य संस्थालाई सूचीकृत गरेको छ । तर, रोजगारका लागि गल्फ मुलुकहरू साउदी अरब, बहराइन र ओमन जाने कामदारको स्वास्थ्य परीक्षणमा गाम्का नेपालका नाममा १२ वटा संस्थाको सिन्डिकेटको एकाधिकार छ ।

खारेज भनिएका संस्थाबाटै स्वास्थ्य परीक्षण
गल्फ कोअपरेसन काउन्सिल जिसिसीले १७ फागुन ०७४ बाट साउदी, ओमन र बहराइन जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि लागू गरिएको मेडिकल सेन्टरको एसोसिएसन ९गाम्का० खारेजीको घोषणा गरेको थियो । तर, खाडी राष्ट्रका लागि गराइने ‘पूर्वमेडिकल परीक्षण’का लागि गाम्काकै वेबसाइटमा अनलाइन बुकिङ गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसमार्फत गाम्कामा आबद्ध मेडिकलबाट मात्रै स्वास्थ्य परीक्षण गर्नुपर्ने बाध्यात्मक अवस्था अहिले पनि कायम छ ।

साउदी जाने कामदारको स्वास्थ्य परीक्षणमा गाम्का नेपालका नाममा कायम सिन्डिकेटको खारेजीको माग राख्दै नेपाल स्वास्थ्य व्यवसायी महासंघले समेत लामो समयसम्म आन्दोलन गरेको थियो । तर, त्यही महासंघका तत्कालीन पदाधिकारी प्रवीण तिवारी, कैलाश खड्कालगायतले माइग्राम्स र बायोमेट्रिक नाममा सिन्डिकेट खडा गरी मलेसिया जाने कामदारलाई ठगी गर्न लागेपछि त्यो आन्दोलन पनि सकियो ।

यी हुन् गाम्काको नाममा ठगी गर्ने स्वास्थ्य संस्था

अल खालिज मेडिकल सेन्टर, चाबहिल महेन्द्र ढंगाना

अलमसुर डायग्नोसिस सेन्टर, नयाँ बानेश्वर – डा सानुकृष्ण श्रेष्ठ, डा भागरथी कायस्थ र डा जहाङगिर आलम

अक्वा डायग्नोसिस सेन्टर, बत्तीसपुतली – डा अर्जुनसिंह चन्द, डा। मनोरदिन साइयद, डा जुबिर अहमद

हेल्थ केयर क्लिनिक, त्रिपुरेश्वर – डा एस राना

कान्तिपुर डायग्नोसिस सेन्टर, कान्तिपथ– डा आरडी जोशी

लाइफ केयर प्रिन्स डायग्नोसिस सेन्टर, त्रिपुरेश्वर – डा आर रौनियार

लाइफ ट्रस्ट मेडी डायग्नोसिस प्रालि, धुम्बाराही – डा  विजयराज झा, डा शर्मिला पराजुली

मेडिएसिया डायग्नोसिस सेन्टर, बाँसबारी – डा अरविन्दप्रसाद साह, डा आभूषणसिद्धि तुलाधर, डा रमिला श्रेष्ठ

राजाम मेडिकल सेन्टर, चाबहिल – डा राजेशकुमार, डा मुक्तचन्द

साइबा मेडिकल सेन्टर, पुलचोक, ललितपुर–अब्दुल सुनार

साउदी नेपाल मेडिकल सेन्टर – महेन्द्र शेरचन

सिद्धि पोलिक्लिनिक हेल्थ सर्भिस, डिल्लीबजार – डा इश्वरलाल श्रेष्ठ

आजको नयाँ पत्रिकामा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*