यस्तो भएको थियो तत्कालिन एमालेको सचिवालय बैठकमा
हेटौँडा, २५ साउन । बिहीबार बसेको तत्कालिन नेकपा एमालेको सचिवालय बैठकले तत्कालिन एमालेका जिल्ला अध्यक्ष मुनु सिग्देल, श्रीधर पोखरेल, बद्री लम्साल र एकलाल श्रेष्ठलाई सिफारिस गर्ने गोप्य सहमतिको खुलासा भएको थियो ।
तर, यसै समयमा पार्टी केन्द्रले प्रदेश सांसदहरुले जिल्लाको नेतृत्व गर्न नपाउने निर्णय गरेसँगै एमालेका तत्कालिन जिल्ला अध्यक्ष तथा सांसद सिग्देलले आफ्नो दाबीबाट पछि हट्नुपर्ने बाध्यता आइपरेको छ । श्रोतका अनुसार हिजोको बैठकमा सिग्देलले आफु नै पार्टीको नेतृत्वमा हुनुपर्ने भन्दै अडान राखेकी थिईन् तर अधिकांश सचिवालय सदस्यहरुले समानुपातिक रुपमा नै पदको बाँडफाँड हुनुपर्ने बताईरहेको बेला उनको अडान समेत कमजोर भएको थियो ।
हिजोकै बैठकमा तत्कालिन एमालेका एक जिल्ला सचिवालय सदस्यले नेकपा मकवानपुरका अध्यक्ष दाबेदार रहेका श्रीधर पोखरेल नै नेतृत्वमा पुग्नुपर्ने बताउँदै बैठकमै स्पष्ट अडान राखेका थिए । यसमा धेरै जसो सचिवालय सदस्यहरुले समर्थन जनाएका थिए ।
बिहीबार बसेको नेकपाको सचिवालय बैठकले संघीय र प्रादेशिक सांसदलाई जिल्ला र त्यसभन्दा तल्लो कमिटीको अध्यक्ष र सचिव नदिने निर्णय गरेसँगै सिग्देल सहित तत्कालिन माओवादी केन्द्रका जिल्ला अध्यक्ष प्रेमबहादुर पुलामीलाई नेकपाको जिल्ला तहमा नेतृत्व गर्ने बाटो बन्द गरिदिएको छ । उनीहरुले प्रदेश कमिटीमा भने नेतृत्व गर्न पाउने छन् ।
मओवादी केन्द्रबाट सचिवका लागि कमानसिं पाख्रिन सर्वाधिक चर्चामा छन् । साथै भीम पाख्रिन पनि सचिव पदका दाबेदार हुन् । मकवानपुरमा अध्यक्ष एमाले र सचिव माओवादी केन्द्रबाट हुने लगभग निश्चित छ ।
भदौ ५ गतेसम्म जिल्ला तहमा एकता गर्ने केन्द्रिय निर्देशन भए अनुसार जिल्लामा एकता पश्चात जिम्मा पाउने नेताको नाम साउन २५ भित्रनै कार्यदलमा पठाउनुपर्ने छ ।
–पुनः सम्पादन गरिएको । सं.
