नेतृत्व गर्न पाए संगठन र मन दुबै मिलाउने क्षमता राख्छु : श्रीधर पोखरेल (नेता नेकपा)
मकवानपुर २३ साउन । श्रीधर पोखरेल, मकवानपुरको राजनीतिमा राम्रो छवी भएका नेता हुन् । २०३५ सालको हाराहरीबाट एमालेको राजनीतिमा लागेका उनी आजसम्म पनि एमालेको संगठन विस्तार र कार्यकर्ता परिचालनमा क्रियाशील छन् ।
तत्कालिन एमालेको मकवानपुर पार्टी सचिव समेत भइसकेका पोखरेलले अनेरास्ववियूबाट विद्यार्थी राजनीति गरेका हुन् । तत्कालिन माओवादी केन्द्र र एमालेको एकतापछिको नेकपाको नेतृत्वको सवाललाई लिएर फेरि पोखरेल चर्चामा छन् । हुन त पोखरेल यसअघि भएका विभिन्न तहको निर्वाचनमा पनि उम्मेदवार हुने चर्चामा थिए । तर, कहिले उनी आफैले नचाहेर कहिले चाहेर पनि पार्टीभित्र वातावरण नबन्दा उम्मेदवार हुन पाएनन्स/केनन् ।
२०३७ सालमा अनेरास्ववियूको अध्यक्ष भएका पोखरेलले आजसम्म आइपुग्दा विभिन्न बाहिरी तथा पाार्टी संगठनको मोर्चामा बसेर काम गरेका छन् । २०४३ मा जनपक्षीय मंचको सचिव भएर पनि उनले काम गरे । २०४७ को जनआन्दोलनमा सक्रिय सहभागी रहेका पोखरेल २०६२/०६३ को जनआन्दोलनमा नेतृत्वस्तरमै थिए । २०५४ यता पार्टी कार्यालयको सचिवको रुपमा लामो समय काम गरेका पोखरेलले रामेश्वर राना अध्यक्ष हुँदा पार्टी सचिवको रुपमा जिम्मेवारी निर्वाह गरे ।
०६२/०६३ को जनआन्दोलनका क्रममा उनी १२ दिन प्रहरी हिरासतमा राखिए । कार्यकर्ता परिचालनमा निकै माहिर मानिएका पोखरेलले पार्टी बनाउन सकस भोगेको सुनाए । तु खबरले एमालेमा तपाइको विगत के हो भनी सोधेको प्रश्नमा पोखरेल भावुक भए । दुखको हिसाब तपाइलाई सुनाएर कहाँ सकिने खालको छ र उनले भने ।
विगतमा पार्टी र जनताको लागि गरेको योगदानले आनन्द आउने बताउँदै पोखरेलले पार्टीकै कारण राजनीतिक परिवर्तन भएकोमा सन्तोष व्यक्त गरे । आज आफू यो अवस्थामा आइपुग्नुमा पार्टीकै भूमिका रहेको उनले सम्झिए ।
गाउँगाउँमा पुगेर संगठन बनाउने, पार्टीको निर्णय कार्यान्वयन गर्ने काममा आउने कठिनाइ पनि पोखरेलको स्मरणमा अहिले पनि ताजै रहेछन् ।
नेकपा मकवानपुरको नेतृत्व गर्ने अवसर पाए तत्कालिन दुबै पार्टीका साथीहरुको मन मिलाउने दायित्वलाई उनले सबैभन्दा पहिले आत्मसाथ गर्ने बताए । दुई फरक फरक पार्टीका कार्यकर्ता नेताको मन मिलाउने काममा आफ्नो तर्फबाट कुनै कसर बाँकी नराखी पार्टी कमिटिमा सबैको समान र इज्जतपूर्ण सहभागिताको लागि काम गर्ने पोखरेलको योजना छ । निर्वाचन घोषणापत्र अनुसार, जनताको काम गर्ने गराउने, निर्वाचित जनप्रतिनिधिलाई सरकारको नीति तथा कार्यक्रम अनुसार काम गर्न उत्प्रेरित गर्ने योजना रहेको पनि सुनाए ।
एकता भएको एक वर्षभित्र महाधिवेशन गर्ने, १ सय २ वटै स्थानीय तह, १० वटै पालिका स्तरको संगठन निर्माण गर्ने, युवाहरुको ठूलो आकांक्षा छ, त्यसलाई क्रमशः सम्वोधन गर्ने, जनतालाई दुई तिहाइको सरकारप्रति विश्वास दिलाउनेजस्ता काम गर्ने उनले योजना बुनेका छन् ।
यस्ता कामको फेहरिस्त नै नभएको बताउँदै पोखरेलले नेकपाको नेतृत्व पाए उदाहरणीय काम गर्न कुनै कसर बाँकी नराख्ने बताए । हेर्नुस्, एउटा जिवन्त पार्टी निर्माण गर्न र त्यसको नेतृत्व गर्न निकै कामहरु गर्न जरुरी छ । धैर्य राख्दै सबैलाई समेटेर लैजाने काम झनै चुनौतीपूर्ण छ । ठूलो चुनौती छ । तर, जिम्मेवारी पुरा गर्न सक्षम छु ।
