प्रधानन्यायाधीस बन्ने जोशीको सपनालाई विशेष समितिले तुहायो, काँग्रेसद्वारा बहिस्कार
काठमाडौं, १९ साउन । प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई नियुक्त गर्न संवैधानिक परिषद्बाट भएको सिफारिस संसदीय सुनुवाइ विशेष समितिको दुईतिहाइ मतले अस्वीकृत गरेको छ । जोशीका शैक्षिक प्रमाणपत्रहरू शंकाको घेरामा रहेको, जन्ममिति फरक–फरक पाइएको, सार्वजनिक आचरण र विगतका कामकारवाहीको आलोचना भएको भन्दै समितिको शुक्रबारको बैठकले जोशीलाई प्रधानन्यायाधीशमा स्वीकार नगर्ने निर्णय गरेको हो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
संसदीय इतिहासमा पहिलो पटक सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशको सिफारिसलाई अस्वीकृत गरेको हो । जोशीलाई स्वीकृत गर्ने कि नगर्ने भन्ने दलहरूबीच तीव्र विवादबीच समितिमा शुक्रबार मतदान गराइएको थियो । सत्तारूढ दलहरू जोशीको विपक्षमा उभिएपछि उनको सिफारिस दुईतिहाइ मतले अस्वीकृत भएको थियो । विपक्षी कांग्रेसले मतदानबाट निर्णय गरे समिति बहिष्कार गर्ने चेतावनी दिए पनि सत्तासीन दलहरूले मतदानका पक्षमा अडान राखेका थिए ।
