हेटौँडामा राजमार्ग क्षेत्रको ट्राफिक र पार्किङको जिम्मा अब प्रहरी र प्रशासनलाई
मकवानपुर, १६ साउन । हेटौँडा उपमहानगरपालिकाले हेटौँडा बजार क्षेत्रको राजमार्गमा ट्राफिक व्यवस्थापन तथा पार्किङको जिम्मा प्रशासन र प्रहरीलाई दिने निर्णय गरेको छ । उपमहानगरपालिकाको यो निर्णयसँगै करिब एक महिनादेखि पार्किङका विषयलाई लिएर मकवानपुर उद्योग वाणिज्य संघ र उपमहानगरपालिकाबिचको किचलो समेत समाप्त भएको छ ।
संघले तय गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत आज हेटौंडा उपमहानगरपालिकामा धर्ना दिने तथा घेराउ गर्ने कार्यक्रम रहेको थियो । तर मंगलबार हेउमनपाको कार्यपलिकाको बैंठकले राजमार्गमा पार्किङको जिम्मा प्रहरीलाई दिएपछि संघले आन्दोलनका कार्यक्रम स्थगित गरेको हो ।
हेउमनपाले राप्ती रोडमा सफल ‘नो पार्किङ’ लागु गरेका थिए भने स्कूलरोडमा गरिएको नो पार्किङलाई व्यवसायीहरुले अवज्ञा गरिदिएका थिए । राप्तिरोडमा मात्र नो पार्किङ गरेको भन्दै विरोधमा उत्रिएको मउवा संघको आजको कार्यक्रम समेत उक्त निर्णय आएसँगै स्थगित भएको छ ।
नगर क्षेत्रको ट्राफिक व्यवस्थापन र पार्किङको व्यवस्थापनका लागि ११ नम्बर वडाका अध्यक्ष गोकर्ण पराजुलीको नेतृत्वमा थप छलफल गर्ने जनाइएको छ । बैंठकमा उपमेयर मिना लामा नेतृत्वले बुझाएको पार्किङ व्यवस्थापनको प्रतिवेदनमाथि पनि समेत छलफल भएको थियो । हेटौंडाको राप्ती रोड, मेनरोड, कान्तिलोकपथ राजमार्गमा पर्छ ।
