मनहरीमा फेरि पाटे बाघको आक्रमण, बस्ती त्रासमा
मकवानपुर, १४ साउन । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ६ डिपाडमा पाटे बाघको त्रास बढेको छ । बाघले ३ वटा बाख्रा मारेसँगै त्रास बढेको हो ।
बाघले मनहरि ६ डिपाड निबासी कुलमान डिम्डुङको एउटा बाख्रालाई जंगलमा चराउने क्रममा हिजो दिउँसो आक्रमण गरी मारेको मनहरीबाट सञ्चारकर्मी जयराम मोक्तानले जानकारी दिए । त्यस्तै डिपाडकै तोरेङ तामाङको २ वटा बाख्रालाई केही आज साँझ बाघले आफ्नो शिकार बनाएको बताइएको छ ।
बाघले डिम्डुङको एउटा बाख्रा मार्नुका साथै एउटा बाख्रालाई बेपत्ता बनाएको छ । बाघको आक्रमणबाट हराई रहेको बाख्रा फेला परेको छैन । घाँस तथा दाउरा काट्न लागि केही दिन अगाडी डिपाड सामुदायिक बन क्षेत्रमा पस्दा २ वटा पाटे बाघ देखिएको र मान्छेलाई समेत आक्रमण गर्न खोजेको मनहरी ६ नयाँ बस्तीका तोकमान स्याङतानले बताए ।

मानवीय क्षती हुन नदिनका लागि जंगल पस्दा सर्तकता अपनाउन तथा सकेसम्म जंगल नछिर्नका लागि डिपाड सामुदायिक वनका अध्यक्ष दिपक मोक्तानले सम्पुर्ण उपभोक्तालाई आग्रह गरेका छन् । केही महिना अगाडी मनहरि ७ रमौलीमा पाटे बाघको आक्रमणबाट एक महिला तथा मनहरी ९ ज्यामिरेमा २ वटा बाख्रा मारिएका थिए ।
