हेटौँडाबाट उठ्यो आवाज–‘स्थानीय तहमा स्वास्थ्य प्रयोगशालाकर्मीको दरबन्दी नराखेकोमा हाम्रो आपत्ति छ’
हेटौँडा, १४ साउन । सरकारले स्थानीय निकायमा स्वास्थ्य प्रयोगशालाकर्मीको दरबन्दी कायम नगरेको भन्दै मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) ले हेटौँडाबाट आपत्ती जनाएको छ ।
हेटौंडामा सोमबार पत्रकार सम्मेलन गर्दै मेलानले गाउँपालिका, नगरपालिका, उपमहानगर र महानगरपालिकामा स्वास्थ्य प्रयोगशालाकर्मीको दरबन्दी कायम गर्न माग गर्दै आपत्ती जनाएको हो । मेलानका केन्द्रीय सदस्य उत्सव चौलागाईंले रोगको अध्ययन अनुसन्धान, सहि पहिचान, औषधिको प्रभावकारिताको परीक्षणलगायतमा स्वास्थ्य प्रयोगशालाकर्मीको आवश्यकता पर्ने बताउँदै दरबन्दी माग गरेका हुन् ।
संघीय संरचनामा स्वास्थ्य सेवाको पुनर्संरचना गर्दा स्वास्थ्य प्रयोगशाला दरबन्दीको आवश्यकता र औचित्यका बारेमा स्वास्थ्य मन्त्रालयसहित सरोकारवाला निकायमा जानकारी गराएपनि बेवास्ता गरिएको आरोप चौलागाईंले लगाए ।
एसोसिएसनले रोगहरुको रोकथाम तथा प्रर्वद्धानात्मक कार्यक्रम र रोग निदान तथा गुणस्तर नियन्त्रण कार्यक्रमको लागि स्थानीय निकायमा स्वास्थ्य प्रयोगशालाकर्मीको दरबन्दीको आवश्यकता र औचित्यको पुष्टिसहित अवधारणा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको उनले जानकारी दिए । पत्रकार सम्मेलनमा मेलानका केन्द्रीय सचिवालय सदस्य भुपनारायण यादवलगायतको सहभागिता रहेको थियो ।
