राप्तिरोडमा व्यवसायीद्वारा एकतर्फि पार्किङ, मेयर महतको आदेशले फेल खायो

तु खबर संवाददाता
२०७५ श्रावण १४, सोमबार १८:०३

हेटौँडा, १४ साउन । हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको एकल निर्णयमा हेटौँडाको राप्तिरोडमा पार्किङ निषेध गरिए पनि आज व्यवसायीहरुले उनको निर्णयलाई फेल गराई दिएका छन् । मेयर महतको ठाडो आदेशमा गरिँदै आएको नो पार्किङलाई राप्तिरोडका व्यवसायीहरुले अवज्ञा गर्दै एकतर्फि पार्किङ गरेका हुन् ।

गएको असार १७ गते मेयर महतको निर्देशनमा उक्त स्थानमा नो पार्किङ घोषणा गरिएको थियो । यस अघि स्कूल रोडमा समेत नो पार्किङ गर्न खोजेका महतलाई स्कूलरोडका व्यवसायीहरुले सफल हुन दिएनन् । त्यसको लगत्तै राप्तिरोडमा मात्र नो पार्किङ गरेर सास्ती दिएको भन्दै व्यवसायीहरु विरोधमा समेत उत्रिएका छन् । विरोधकै दौरान आज व्यवसायीहरुले व्यवसाय धरापमा परेको भन्दै राप्ती रोडमा एकतर्फि पार्किङ गरेका हुन् ।

उपमहानगरपालिकाले राप्ती रोडको पार्किङ जिल्ला प्रहरी कार्यालय अगाडिको खुल्ला स्थानमा तोकेको थियो । पार्किङ स्थल टाढा भएको भन्दै अवज्ञा गरिएको व्यवसायीहरुले प्रतिक्रिया दिएका छन् ।

मकवानपुर उद्योग वाणिज्य संघकै पहलमा हिजोदेखि विरोध सुरु गरिएता पनि आज भएको नो पार्किङको अवज्ञा व्यवसायीहरुले स्वस्फूर्त रुपमा गरेको मउवा संघका अध्यक्ष कृष्ण कटुवालले बताएका छन् । संस्थागत निर्देशनका रुपमा आज बिहान व्यवसाय बन्द गर्ने कार्यक्रम भएता पनि नो पार्किङको अवज्ञा गर्न कुनै निर्देशन नदिइएको उनले प्रष्ट पारे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*