दिपिका पादुकोण र रणविर सिंहको बिहेको भव्य तयारी
एजेन्सी, १३ साउन । प्रेम सम्बन्धका कारण चर्चामा रहेका बलिउडका चर्चित नायिका दिपिका पादुकोण र चर्चित नायक रणविर सिंहको विवाहको चर्चा थप चुलिँदै गएको छ । अनुष्का–विराट तथा सोनम–आनन्दपछि बलिउडका टप कपलका रुपमा उभिएका उनीहरुको एक वर्षदेखि विवाहको चर्चा हुँदै आएपनि हालसालै विवाह गर्ने ठाउँ समेत फाईनल भएको हो ।
फिल्मफेयरको रिपोर्टका अनुसार अनुष्का र विराटले झैँ दीपिका र रणवीरले पनि इटालीमै बिहे गर्नेछन् । उनीहरुले इटालीको ‘लेक कोमो’ मा बिहे गर्ने पक्का गरेका छन् । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण ‘लेक कोमो’ इटालीको लोम्बार्डीमा पर्दछ ।

रणवीर र दीपिकाका आफन्तले जनाए अनुसार आउँदो नोभेम्बर १० मा उनीहरुको विवाह हुँदैछ । वैवाहिक समारोहमा रणवीर दीपिकाका नजिकका आफन्तको मात्रै सहभागिता रहने बताइएको छ । उनीहरुको विवाहमा फिल्म इन्डस्ट्रीबाट कसैको पनि सहभागिता नरहने जनाइएको छ । रणवीर र दीपिकाको विवाह बलिउडकै अहिलेसम्मकै सबैभन्दा महंगो हुने बताइएको छ ।
