सिंहदरबार २ प्रसारण सुरु, संघीय सरकारलाई सहयोग पुग्ने अपेक्षा
काठमाडौँ, १३ साउन । अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग युएसएआइडीको सहयोगमा सर्च फर कमन ग्राउन्ड नेपालले उत्पादन गरेको टेलिशृंखला सिंहदरबार–२ को प्रसारण साउन १२ गते शनिबारदेखि सुरु भएको छ ।
१३ भाग रहेको टेलिशृंखला नेपाल टेलिभिजनबाट हरेक शनिबार बेलुकी ८ बजेर ५० मिनेटदेखि ९ बजेर ३० मिनेटसम्म प्रसारण हुने भएको हो । त्यस्तै टेलिश्रृंखलाको पूनः प्रसारण सोमबार दिउसो १ बजेर ५ मिनेटमा हुनेछ । टेलिशृंखलाको यो सिजन, संघीय संरचनामा जाँदा नेपालले सामना गर्ने चुनौति र अवसरहरुमा केन्द्रित गरिएको सर्च फर कमन ग्राउण्डले जनाएको छ ।
यो सिजनमा नेपालमा संघीय संरचना तथा त्यससँग सम्बन्धित नीति र योजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न प्रधानमन्त्री बनेकी पात्र आशा सिंह कसरी सफल हुन्छिन् भन्ने कुरा देखाइएको छ । टेलिशृंखलामा नेपालको पहिलोे महिला प्रधानमन्त्रीको भूमिका अभिनेत्री गौरी मल्लले निर्वाह गरेकी छिन् ।
नवीन सुब्बाले निर्देशन गरेको टेलिशृंखलामा रमेशरञ्जन झा, प्रमोद अग्रहरी, रमेश बुढाथोकी, आलोक थापा, बादल भट्ट, देशभक्त खनाल, प्रकाश घिमिरे, हेमन्त चालिसे, प्रभात रिमाल, सुरेश चौधरी, सविना गोपाली र रेम विश्वकर्मा लगायतले अभिनय गरेका छन् ।
टेलिशृंखला सिंहदरवार–२ को पटकथा लेखन अविनासविक्रम शाह र छिरिङ्ग छोदेनको नेतृत्वमा प्रविण अधिकारी, सम्पदा मल्ल तथा सुरज पौडेलले गरेका छन् । पटकथा लेखन टोलीलाई कार्यकारी निर्माता युवाकरराज राजकर्णिकारले मार्गनिर्देशन गरेका हुन् । देश संघिय संरचनामा प्रवेश गरेको सन्दर्भमा केन्द्र, प्रदेश र स्थानीय तहमा के कस्ता समस्या र चुनौती आउन सक्छन् र त्यसलाई समाधान गर्न तिनै तहका सरकारले के कस्तो बाटो अपनाउन सक्छन् भन्ने उपाय सिंहदरबार–२ मा प्रस्तुत गरिएको छ ।
