मकवानपुरमा वर्षाका कारण ५ हजार परिवार खतराको सूचिमा

तु खबर संवाददाता
२०७५ श्रावण १३, आईतवार १२:५१

हेटौंडा, १३ साउन । साउन महिना लागेसँगै सुरु भएको भारी वर्षाका कारण मकवानपुरमा उच्च सुरक्षा सतर्कता (हाइ अलर्ट) जारी गरिएको छ । वर्षाका कारण हुनसक्ने बाढीपहिरो र तथा अन्य प्राकृतिक विपत्तिका घटना भएमा तत्काल उद्दार र राहतको लागि मकवानपुरमा उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।

जिल्ला विपद व्यवस्थापन समिति मकवानपुरका अनुसार मकवानपुरमा ५ हजार परिवारका २५ हजार जनसंख्या विपदजन्य घटनामा प्रभावित हुन सक्ने आँकलन समेत गरेको छ । मकवानपुरमा खहरे खोला र पहिरोको उच्च जोखिम रहेको विपद व्यवस्थापन समितिको भनाइ छ । केही समथर भागहरुमा डुबानको समस्या रहेको र चट्याङबाट पनि मकवानपुर बढी प्रभावित भइरहने जिल्ला अन्तर्गत पर्छ । विपदका घटना हुन सक्ने स्थानको समेत पहिचान गरी त्यस क्षेत्रमा हुनसक्ने जुनसुकै विपत्तिको घटनामा क्षति न्युनीकरण तथा उद्वार र राहत पुराउनका लागि समितिले सम्पूर्ण तयारी समेत गरेको बताइएको छ ।

जिल्लास्थित सरोकारवालाहरुको सहभागितामा मनसुन आपतकालीन योजना–२०७५ समेत तयार गरी विपदमा परेकाहरुलाई उपचार, बास, खाद्यान्न, कपडालगायतको सामाग्री तत्काल व्यवस्थापन गर्न र तत्काल उद्वार गर्न जिल्लास्थित सरोकारवालाको सहभागितामा ८ वटा क्लष्टर बनाएर तयारी भइसकेको जानकारी दिइएको छ ।

मकवानपुरका १० वटै स्थानीय तहका प्रमुखको अध्यक्षतामा स्थानीय विपद् व्यवस्थापन समिति गठन गरिएको छ । समितिले विपद पर्ने बित्तिकै उद्वारमा लाग्ने, सुरुको तहको राहत उपलब्ध गराउने, सूचना संकलन गरी जिल्लामा पठाउने लगायतको काम गर्ने गरी जिम्मेवारी दिइएको छ । भूकम्पपछि जोखिममा परेको कैलाश गाउँपालिकाको एक बस्तीलाई सार्ने तयारी समेत अघि बढेको समितिको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*