भारत सीमा क्षेत्रमा लुटिए तीन नेपाली युवक
भीमदत्तनगर, १२ साउन । भारत सीमा क्षेत्रमा तीन नेपाली युवक लुटिएका छन् । भारतको सिमलाबाट मजदुरी गरेर घर फर्किरहेका उनीहरु कञ्चनपुरको पश्चिमी नेपाल–भारत सीमा क्षेत्रमा लुटिएका हुन् ।
तीन जनालाई बनवासा पुल हुँदै लुटेरा समूहले महाकाली नगरपालिका– १ स्थित बैलबन्द सामुदायिक वन क्षेत्रमा लुटपाट गरी छाडेर गएको इलाका प्रहरी कार्यालय दोधारा चादँनीले जनाएको छ ।
लुटिनेमा कैलालीको लम्कीचुहा नगरपालिका– ९ प्रतावपुरका १६ वर्षीय गौरभ चौधरी, २१ वर्षीय राजेश चौधरी र धनगढी उपमहानगरपालिका– १ का ३२ वर्षीय श्रवण राना रहेका छन् ।
अर्धचेत अवस्थामा रहेका तीनै जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
