हेटौँडाको सिद्धार्थ माविमा गुरु पूर्णिमा विशेष कार्यक्रम, पूर्व प्रधानाध्यापकद्वारा अक्षयकोष खोल्ने घोषणा
हेटौँडा, ११ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ सिद्धार्थ पथमा अवस्थित सिद्धार्थ माध्यमिक विद्यालयमा आज परेको गुरु पूर्णिमाका अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा प्लस टु मा अध्ययनरत विद्यार्थीहरुले विशेष कार्यक्रम गरेको सञ्चारकर्मी भुवन घलानले जानकारी दिए ।
विशेष कार्यक्रममा बोल्दै विद्यालयका पूर्व प्रधानाध्यापक गोकुल श्रेष्ठले विद्यालयको नाममा २ लाख रुपैयाँको अक्षयकोष खोल्ने घोषणा गरेका छन् । विद्यालयलाई थप उन्नति प्रगतिको बाटोतर्फ डोर्याउने उद्देश्यले अक्षयकोष संचालन गर्न लागिएको उनले बताए । कार्यक्रममा शुभकामना मन्तव्य ब्यक्त गर्दै उनले अबको प्रत्येक बर्ष विद्यालयमा अध्यापन गराउने एक जना उत्कृष्ट शिक्षक–शिक्षिकालाई उक्त कोषबाट प्राप्त ब्याजको रकमले ५० हजार रुपैयाँ बराबरको प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिने बताए ।
कोषबाट आएको ब्याजबाट पुरस्कारका लागि अपुग रकम बिद्यालयले थप गरिने मन्तब्यका क्रममा बिद्यालयका प्रधानाध्यापक मोहन प्रसाद शर्माले प्रतिवद्धत्ता जाहेर गरे । उनका अनुसार उक्त सम्मानले आफुहरुलाई हौसला मात्र नभएर आफुहरु बिद्यार्थीले अपेक्षा गरे जस्तो बन्न सकियो वा सकिएन भन्ने विषयको ज्ञान पाउनुका साथै विद्यालयको विभिन्न कमजोरीका पक्ष सुधार गर्न जिम्मेवारी सँगै चुनौती पनि थप भएर अगाडि बढ्न गम्भीर बनाएको बताए ।
उनले कार्यक्रम मार्फत शुक्रबार देखि नै २१ महिना सम्ममा सम्पन्न हुनेगरि २८ कोठाको नयाँ भवन निर्माण कार्य सुरु हुन लागेको जानकारी दिए । साथमा गुरुलाई स्मरण गर्दै आमाबुवा र गुरुलाई सम्मान गरे जुनसुकै ब्यक्ति पनि सफल भईने विश्वास व्यक्त गरे । उनले पुर्व प्रअ श्रेष्ठले विद्यालयप्रति गरेको योगदानको निमित्त कृतज्ञता ब्यक्त गरे ।

कार्यक्रममा प्लस टु का विद्यार्थीले सम्पुर्ण गुरुलाई फुल माला र टीका सहित सम्मान गरेका थिए । राष्ट्रिय गान गाएर कार्यक्रमको उत्घाटन गरे लगत्तै जोड विद्यार्थीका तर्फबाट प्रकाश वाईबाले स्वागत मन्तब्य व्यक्त गरेका थिए । स्वागत मन्तव्य पश्चात माविका सहायक प्रधानाध्यापक सागर खतिवडाले कवितामार्फत जिबनमा गुरुको महत्व दर्शाएका थिए । त्यसै गरि विद्यार्थीको तर्फबाट सुस्मिता पुडासैनीले आफ्नो छोटो मिठो शुभकाना सन्देश र गुरुप्रति आभार ब्यक्त गरिन् । कार्यक्रममा प्रमिला घलेले पनि गुरु भनेको आमाबुवा र ईश्वर सम्मान हुन भन्ने भावको कविता प्रस्तुत गरिन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु बजगाईँ,सदस्य, विद्यालयका पूर्व प्रअ गोकुललाल श्रेष्ठ, विद्यालयका सम्पुर्ण शिक्षक–शिक्षिका लगायत सम्पुर्ण विद्यार्थीहरुको उपस्थिति रहेको थियो । विद्यालयका भूपू विद्यार्थी अमृत चिमरियाले कार्यक्रम संचालन गरेका थिए ।
