रेडियो अनमोलको ५ दिने आधारभूत रेडियो पत्रकारिता तालिम शुरु, ३ जनालाई रोजगारीको व्यवस्था
मकवानपुर, १० साउन । हेडम्बा मिडिया प्रालिद्वारा सञ्चालित रेडियो अनमोल ९० मेगाहर्जले बिहीबारबाट हेटौँडामा ५ दिने आधारभूत रेडियो पत्रकारिता तालिम शुरु गरेको छ ।
तालिमको आज एक कार्यक्रमका बिच हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका महतले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सुझाव दिए । कार्यक्रम रेडियो अनमोल संचालक समितिका सदस्य कृष्णराज कोईरालाको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा बोल्दै वक्ताहरुले मकवानपुरमा पत्रकारिताको ठूलो सम्भावना भएको औँल्याउँदै तालिममा सिकेर व्यवसायिक पत्रकारितातर्फ अग्रसर हुन आग्रह गरेका छन् । पत्रकारितामा सम्भावना र चुनौति दुबै रहेको कुरामा जोड दिँदै सिक्ने र घरमा बस्ने भन्दा पनि पत्रकारिता तालिम लिएर फिल्डमा उत्रन सुझाव दिइएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशका महासचिव कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरका अध्यक्ष हरि हुमागाई, प्रेस चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहाल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ जिल्ला शाखा मकवानपुरका उपाध्यक्ष अशोक सुजन श्रेष्ठ, तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष चन्द्र घलान, अग्रज पत्रकार मनोहर ढकाल, अग्रज पत्रकार एवं प्रशिक्षक रिपेश ऋद्धि दाहाल, रेडियो संचालक समितिका सदस्य माधव गौतम, रेडियो अनमोलका स्टेसन म्यानेजर बालकृष्ण दाहाल, ओरिजिन एजुकेशनका शिवहरी दाहाल लगायतको आतिथ्यता रहेको थियो ।
तालिमको पहिलो दिन आज प्रशिक्षक रिपेश ऋद्धि दाहालले रेडियोका इतिहासको बारेमा जानकारी दिएका थिए । तालिममा दाहाल सहित स्थानीय तथा राष्ट्रिय रुपमा ख्यातिप्राप्त प्रशिक्षकहरुले प्रशिक्षण दिने बताइएको छ । ५ दिने तालिममा रेडियो पत्रकारिता, रेडियो कार्यक्रम उत्पादन, स्क्रिप्ट लेखन, समाचार लेखन, नव रस लगायतका विषयमा आधारभूत प्रशिक्षण दिईने रेडियो अनमोलकी कार्यक्रम संयोजक सलिना ढुङ्गेलले जानकारी दिईन् ।
तालिममा उत्कृष्ट हुने ३ जनालाई रेडियो अनमोलमै रोजगारीको व्यवस्था गर्ने र अन्य उत्कृष्टलाई समेत विभिन्न सञ्चार माध्यममा रोजगारीका लागि समन्वय गरिने बताइएको छ । तालिममा ५५ जना भन्दा बढी प्रशिक्षार्थीहरु सहभागी छन् ।
