मनहरीको महेन्द्र किरण माविमा अब बाली विज्ञान पढाई हुने
मकवानपुर, ०९ साउन । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ८ मा रहेको महेन्द्र किरण माध्यमिक विद्यालयमा बाली विज्ञान विषय पढाई हुने भएको छ ।
प्राविधिक शिक्षा संचालनका लागि सिटीईभिटीले अनुमती दिएसंगै बाली विज्ञान अध्यापनका लागि सम्पूर्ण तयारी पुरा भएको मनहरीबाट सञ्चारकर्मी जयराम मोक्तानले जानकारी दिएका छन् । महेन्द्र किरण मावि विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मात्रिका प्रसाद ढुङ्गनाका अनुसार सम्पूर्ण प्रशासनिक प्रक्रिया पुरा गरी कक्षा सञ्चालनको लागि भौतिक पुर्वाधार समेत तयारी गरिसकिएको छ । स्थानीय सरकार गठन भए यता ‘एक गाउँपालिका एक प्राविधिक शिक्षालय स्थापना कार्यक्रम’ अन्र्तगत उक्त विद्यालयमा १८ महिने बाली विज्ञान कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
हाल बाली विज्ञानको मात्र कक्षा सञ्चालन गरी निकट भविष्यमै पशु विज्ञानको पनि कक्षा सञ्चालन गर्ने विद्यालयले लक्ष्य लिएको छ । स्थानीय स्तरबाटै कृषि क्षेत्रमा सुधार गरी नेपालको कृषि क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले बाली विज्ञान कक्षा सञ्चालन गर्न लागिएको अध्यक्ष ढुङ्गानाले बताए । बाली विज्ञान अध्ययनका लागि कैलाश गाउँपालिका, राक्सीराङ गाउँपालिका तथा पदमपोखरीबाट समेत विद्यालयमा जानकारी लिने क्रम सुरु भएको अध्यक्ष ढुङ्गानाले बताए ।
अध्यक्ष ढुङ्गानाका अनुसार प्राविधिक शिक्षा अध्ययनका लागि मनहरी गाउँपािलकाका विद्यार्थीरुलाई प्राथमिकतामा राखी कक्षा सञ्चान गरिने छ । बाली विज्ञान अध्ययनका लागि अहिले धमाधम फारम भर्न विद्यार्थीहरु विद्यालयमा आउने गरेका छन् । यही साउन ११ गते भित्रसम्म मात्र फारम भर्नका लागि समय छुटाइएको छ । गुणस्तरिय शिक्षा प्रदान गर्ने उदेश्यले विद्यार्थीलाई अध्यापन गराउन दुई जना शिक्षकको ब्यबस्था भइसकेको र एक शैक्षिक सत्रमा ४० जना विद्यार्थीहरुले अध्ययन गर्न सकिने बताइएको छ ।
प्राविधिक शिक्षा सञ्चालनको लागि मनहरी गाउँपालिका तथा अन्य संघ सँस्थाहरुले पनि सहयोग गरेका छन् । स्थानीय स्तरमै कृषि सम्बन्धि दक्ष जनशक्ति उत्पादन भएमा मनहरी तथा आसपासका क्षेत्रको कृषिमा सुधार आउने स्थानीयले अपेक्षा गरेका छन् ।
यस अघि प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको सामुदायिक विद्यालयमा प्राबिधिक शिक्षा (टेक्स) महाशाखा सानोठिमी भक्तपुरमा आवेदन दिएका विद्यालय मध्ये मकवानपुरका ४ वटा विद्यालयले टि.एस.एल.सी. तहको कार्यक्रम सञ्चालनका लागि पुर्वाधार तयारीको अनुमति प्राप्त गरेका थिए ।
नेपाल सरकारको प्रत्येक स्थानीय तहमा सिटिईभिटीबाट मान्यता प्राप्त प्राबिधिक शिक्षालय स्थापना गर्ने उद्देश्य अनुसारको कार्यक्रम अनुसार मकवानपुरको भीमफेदी गाउँपालिका–५ मा रहेको महालक्ष्मी माविमा सिटिईभिटीबाट मान्यता प्राप्त पा्रविधिक तर्फको पशु विज्ञान र भीमफेदी–६ मा रहेको महेन्द्र माविमा सिभिल सब ओभरसियरको कक्षा सञ्चालनका लागि पुर्वाधार तयार गर्न अनुमति प्रदान गरिएको थियो । त्यस्तै मनहरी–८ सिमपानीमा रहेको महेन्द्र किरण मावि र कैलाश गाउँपालिका–९ मा रहेको कालिका माविमा बाली विज्ञान सञ्चालन गर्नका लागि पुर्वाधार तयार गर्न अनुमति प्रदान गरिएको थियो । जसको तयारी पुरा गरेर महेन्द्र किरणले अध्यापन सुरु गर्न लागेको हो ।
परिषदले देशभरीका १ सय १० वटा सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षा सञ्चालनका लागि पुर्वाधार तयार गर्न अनुमति प्रदान गरेको थियो ।
