मिसेस मकवानपुरको प्रशिक्षण हेटौँडामा शुरु, ११ जना विवाहित महिला सहभागी
मकवानपुर, ०९ साउन । मिसेस मकवानपुर २०१८ प्रतियोगितामा सहभागीहरुका लागि बुधबारबाट हेटौँडामा प्रशिक्षण शुरु भएको छ । हेटौंडा लेडी जेसिसले आयोजना गरेको प्रतियोगितामा मकवानपुरका ११ जना विवाहित महिलाहरु प्रतिस्पर्धाका लागि सहभागी भएका छन् ।
२० दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन हेटौंडा लेडी जेसिसकी संस्थापक अध्यक्ष नीरा गोर्खालीको प्रमुख आतिथ्य तथा वर्तमान अध्यक्ष अस्मिता श्रेष्ठको अध्यक्षतामा भएको थियो । प्रतियोगिताले महिलाहरुको आत्मबल विकास गर्दै नयाँ अवसरको सृजना गर्ने लेडी जेसिसकी संस्थापक अध्यक्ष गोर्खालीले बताईन् । उनले, सामाजिक रुपमा नयाँ परिचय स्थापित गर्न समेत यसले मदत गर्ने दाबी गरिन् ।
विजेताले मिसेस मकवानपुर उपाधीसहित नगद २५ हजार, फस्र्ट रनरअपले १५ हजार र सेकेन्ड रनरअपले १० हजार सहित उपहारहरु प्राप्त गर्ने जेसिसकी अध्यक्ष श्रेष्ठले बताईन् । प्रतियोगितामा सहभागिहरुलाई विभिन्न पुरस्कारहरु समेत प्रदान गरिने बताइएको छ ।
प्रतियोगिताकी कार्यक्रम संयोजक तथा जेसिसकी जनसम्पर्क अधिकारी सोफिया फागोले मिसेस मकवानपुरका उत्कृष्ट १५ प्रतिष्पर्धीलाई टाईटल वितरण गरिने बताईन् । प्रतियोगिताको फाईनल यही साउन २६ गते हेटौंडाको ओम्याक्स हलमा हुने आयोजकले जनाएको छ । उद्घाटन कार्यक्रममा बसामाडी जेसिसका अध्यक्ष हरि शर्मा, हेटौंडा लेडी जेसिसकी पूर्व अध्यक्ष रश्मी बस्नेत, निवर्तमान अध्यक्ष निशा रोक्का, हेटौंडा जेसिसका निवर्तमान अध्यक्ष अरुणकुमार दाहाल लगायतको आतिथ्यता रहेको थियो ।
