बाघझोरामा बाढी र पहिरो आतंक, हेटौँडाबाट भिमफेदी–काठमाडौँ जानै मुस्किल
मकवानपुर, ०७ साउन । गत वर्षहरुमा जस्तै यो वर्ष पनि हेटौँडा–भैँसे सडक अन्तर्गत भिमफेदी गाउँपालिकाको बाघझोरामा बाढी र पहिरोको आतंक सुरु भएको छ । हरेक वर्ष समस्या पार्दै आएको यस स्थानमा न त पक्की पुल बन्छ न त अन्य कुनै प्रयास नै । प्रयास गरिएता पनि जाली लगाउने मात्र काम हुन्छ जसलाई माथिबाट आएको बाढी र पहिरोले सजिलै नाघ्न सक्छ ।
पटक–पटक बाटो बन्द भएपछि स्थानीय सहित सो सडकबाट आवतजावत गर्ने यात्रुहरु समेत आजित भएका छन् । यस्तैमा हिजो साँझ देखि पर्न सुरु गरेको वर्षाका कारण बाघझोरामा खोलाले बाटो छेकेपछि सो सडक भएर हेटौँडातर्फ तथा हेटौँडाबाट भिमफेदीतर्फ जाने सवारीहरु बाटैमा रोकिए । पानी थामिएपछि बाटो सुचारु भए पनि गएराति परेको वर्षाका कारण बाघझोरा नजिकै ठूलो पहिरो खसेपछि बाटो फेरि अवरुद्ध भएको छ ।
बिहानै पहिरो खसेका कारण अहिले प्रहरीसहितको टोली बाटो खुलाउने प्रयासमा जुटेका छन् । बाटो अवरुद्ध भएपछि यात्रुहरु बाटोमै अलपत्र परेका छन् । असार साउनमा आउने बाढीले दैनिकजसो सडक अवरुद्ध हुँदा त्रिभुवन राजपथ र हेटौंडा कुलेखानी काठमाडौं सडकबाट ओहरदोहर गर्ने यात्रुहरु यसरी नै सास्ती भोगिरहेका छन् ।
डिभिजन सडक कार्यालय हेटौंडाले उक्त स्थानमा स्ल्याब गरेता पनि त्यसले समस्या समाधान गर्न सकेको छैन । कार्यालयले करिब २० लाख रुपैयाँ लगानी गरेर स्ल्याब बनाएको थियो । सिमेन्ट उद्योगले ओखरे खानी सञ्चालनमा ल्याएपछि २०३६ सालसम्म खोल्साको रुपमा रहेको बाघझोराले विकराल रुप लिएको हो ।
