हेटौँडाको हुप्रचौरमा महिला राष्ट्रिय फुटबलको फाईनल भिडन्त आज
हेटौँडा, ०३ साउन । उपराष्ट्रपति महिला राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को फाइनल खेल आज मकवानपुरको हेटौँडामा अवस्थित हुप्रचौरमा हुँदैछ । आजको फाइनल खेलमा सिन्धुपाल्चोक र काठमाडौं भिड्ने छन् ।
मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा सिन्धुपाल्चोकले ताप्लेजुङलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । त्यस्तै काठमाडौंले मकवानपुरलाई ३–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।
प्रतियोगिताको विजेताले काठमाडौंमा हुने महिला राष्ट्रिय लिगमा प्रतिनिधित्व गर्ने मौका प्राप्त गर्नेछन् । राष्ट्रिय लिगको मिति भने तोकिएको छैन । छनौट पश्चात तोकिने बताइएको छ । मकवानपुर र रौतहट गरी दुई स्थानमा यस प्रतियोगिता सञ्चालन भइरहेका छन् । दुवैतर्फ १३–१३ जिल्लाको सहभागिता रहेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक निर्णयअनुसार सञ्चालित प्रतियोगितामा १३ वटा जिल्लाको सहभागिता रहेको थियो । प्रतियोगितामा मकवानपुर, बर्दिया, स्याङ्जा, उदयपुर, महोत्तरी, काठमाडौं, नवलपरासी, बाँके, रुपन्देही, सिन्धुपाल्चोक, सुर्खेत, चितवन र ताप्लेजुङ रहेको छ ।
