कर्रामा महिलाले सुरु गरे टनेलमा सामुहिक तरकारी खेती
मकवानपुर ३ साउन । हेटौंडा १० कर्राका महिलाहरुले संयुक्त रुपमा तरकारी खेती सुरु गरेका छन् । नगर कृषक समूह हेटौंडा १० मा आबद्घ महिलाहरु व्यवसायिक खेतीमा लागिपरेका हुन् । उनीहरुले एक सामुहिक रुपमा गोलभेडा खेती सुरु गरेका हुन् ।
बुधबार वडा अध्यक्ष किताब सिं लामाले गोलभेडाको विरुवा रोप्दै महिलाहरुले सुरु गरेको सामुहिक खेतीलाई प्रगतिको कामना समेत गरे । समूहकी अध्यक्ष सीता गिरीको पहलमा दश धुर जग्गामा कविता नामको गोलभेडा खेती सुरु गरिएको हो ।
कृषि समूहसंग ९० हजार ऋण लिएर टनेल बनाएर महिलाहरुले खेती सुरु गरेका हुन् । गोलभेडा रोपेर सामुहिक तरकारी खेती आरम्भ गरेका उनीहरुले एक गठ्ठा क्षेत्रफलमध्ये पाँच धुरमा लोकल काक्रो र पाँच धुरमा साग खेती गर्ने सोच बनाएका छन् । ‘महिलालाई आय आर्जनमा सघाउ पु¥याउने उद्घेश्यले सामुहिक तरकारी खेती थालिएका हो ।’ समूह अध्यक्ष गिरीले भनिन्,‘आयआर्जनमा सघाउ पु¥याउनका लागि हामीले सामुहिक खेती थालनी गरेका हौं ।’
कृषिमा व्यवसायिक रुपमा लागिपर्नका लागि २०५५ सालबाट आफूहरु कृषक समूहमा आबद्घ हुदै लागिपरेको अध्यक्ष गिरीले बताइन् । समूहमा आबद्घ व्यवसायिक रुपमा सामुहिक तरकारी खेती गर्दा आफूहरु स्वरोजगार हुने आशामा रहेका समूहकी सचिव कमला मगरले बताइन् । महिलाहरुले सामुहिक तरकारी खेतीका लागि दुई वटा टनेल निर्माण गरेका छन् । दुई वटा मध्ये एउटा टनेल निर्माण कार्य सम्पन्न भइसकेको छ भने अर्को टनेल निर्माण कार्य भइरहेको छ ।
टनेल निर्माणका लागि आवश्यक सहयोग गर्नका लागि महिलाहरुले मनकारी दातालाई आग्रह पनि गरेका छन् । कृषक समूहमा आबद्घ महिलाहरुको कार्य देखेर प्रभावित हुदै नेपाली काङ्ग्रेस हेटौंडा १० का सभापति कालु घलानले टनेलका लागि रु.१३ हजार रुपिया बराबरको त्रिपाल सहयोग गर्ने घोषणा गरे । सामुहिक तरकारी खेती उद्घाटनमा सहभागी उनले भने,‘तपाईं महिलाहरुले गरेको यो सामुहिक कार्य मलाई मनप¥यो, तपाईहरुको सहजताका लागि मेरो तर्फबाट आवश्यक त्रिपाल सहयोग उपलब्ध गराउँछु ।’ उनले नगर कृषक समुहमा आबद्घ महिलाहरुले सामुहिक रुपमा गर्ने कार्यका लागि आफ्नो तर्फबाट आवश्यक सहयोग निरन्तर रुपमा प्रदान गर्ने प्रतिबद्घता व्यक्त गरे ।
नगर कृषक समूहका महिलाले हेटौंडा १० मा नै पहिलो पटक टनेलमा तरकारी खेती सुरु गरेको बताएका छन् । आफूहरु अब निरन्तर रुपमा तरकारी खेतीमा लागिपर्ने उनीहरुको भनाई छ । हाल समूहमा आबद्घ ४० जना महिला आबद्घ रहेका छन् ।
