मकवानपुर आएर काँग्रेस नेता रामचन्द्र पौडेलले के भने ?
मकवानपुर ३ साउन । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारका विभिन्न गलत प्रवृत्तिका विरुद्ध सचेत गराउन कांग्रेस अब सडकदेखि सदनसम्म आन्दोलनमा उत्रने बताएका छन् । नेकपा सरकारको विभिन्न तानाशाही प्रवृत्तिको बारेमा जनतालाई जानकारी दिन र सरकारलाई सचेत गराउन यही साउन १५ गते देशैभर विरोधको कार्यक्रम तय गरेको बताए ।
चितवनबाट हेटौंडा हुँदै बीरगंज जानेक्रममा विहिबार विहान हेटौंडा भएको नेता तथा कार्यकर्ता भेटघाटको क्रममा नेता पौडेलले सरकारको गलत निर्णय र प्रवृत्तिको बारेमा सरकारलाई सचेत गराउन सडकदेखि सदनसम्म कांग्रेस आन्दोलनमा उत्रनुपरेको समेत बताए ।
संविधानको भावना र मर्म विपरित फरक पार्टीको सभामुख र उपसभामुख हुनुपर्नेमा रकमी कुरा गर्दै २ वटै सिट हडप्दै तानाशाह लाद्न खोजेको बताउँदै नेता पौडेलले कांग्रेस जहिल्यै समानतामूलक र न्यायमूलक समाज निर्माण लागिपरेको बताए ।
लामोसमयदेखि अनसनरत डा.गोविन्द के.सी.को मुद्दा जायज भएको भन्दै माथेमा आयोगको प्रतिवेदनलाई अघिल्लो सरकारले अध्यादेशको रुपमा ल्याउँदा अहिलेको सरकारले स्वास्थ्य माफियाकोहरुको प्रलोभनमा परेर ठिक उल्टो बनाएर ल्याएकोमा गम्भीर आपत्ती रहेको बताउँदै नेता पौडलले अघिल्लो सरकारले ल्याएको अध्यादेश विधेयकको रुपमा ल्याउनुपर्ने बताए ।
क्वालिटीको स्वास्थ्य, क्वालिटिको शिक्षा हुनुनै समाजबाद हो भन्दै उनले नेकपा कमाउ धन्धामा लागेका विभिन्न क्षेत्रका माफियाहरुलाई प्रोत्साहन, राज्यको श्रोत र साधनमा लुटतन्त्र र नयाँ शोषक वर्ग जन्माउन उद्यत रहेको समेत बताए ।
नेपाली कांग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा भएको कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताको उपस्तिथि रहेको थियो ।
