कोरा साईकल च्यालेन्जको तयारी अन्तिम चरणमा, ५ गते हेटौँडामा साईकलमा सरर
मकवानपुर, ०२ साउन । हेटौंडामा पहिलो पटक यही साउन ५ गते ‘हेटौंडा कोरा २०१८ साइक्लिङ च्यालेन्ज’ हुने भएको छ । स्थानिय पर्यटन प्रवद्र्धन हुने तरिकाले कोरा कार्यक्रमको आयोजना गरिएको आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
हेटौंडा राइडर्स क्लबले आयोजना गरेको साइक्लिङ कार्यक्रममा देशभरका २ सय जना साईकल राइडरहरुले सहभागिता जनाउने क्लबका अध्यक्ष विकास ताम्राकारले बताए । कोरा भन्नाले मन्दिर परिक्रमा गर्ने बुझिन्छ । साईकलिङको बेलामा सडकसंग नजिक रहेका मठ मन्दिर चैत्य गुम्बा सबैलाई भित्र पारी यात्रा गरिनेछ ।
हेटौंडाको भुटनदेवी मन्दिरबाट सुरु भई बुद्धचोक, चौकीटोल, वनस्खण्डी, पिप्ले, माछा प्लान, चौघडा, चुच्चेखोला, राजदेवी, एक्ले खेत फुर्केचौर, हर्नामाडी गुम्बाडाँडा, हटिया, शिखरपानी, पनेश सल्लाघारी, नयाँवस्ती हुदैं कुष्माण्ड सरोवर त्रिवेणीधाम, कर्राको गुम्बा भई पशुपतिमन्दिरबाट पुनः बुद्धचोकमा आईपु गिने क्लबका सचिव सफल अधिकारीले बताए । यो यात्राको क्रममा नाम चलेको ४० वटा भन्दा बढी मठमन्दिर चैत्य गुम्बाहरु रहेको र यात्रा ५० किलोमिटरको गरिने अधिकारीले बताए ।
र्यालीमा सहभागीहरुलाई १ दिने २ लाख बराबरको बिमा, टिर्सट, खाना, जुस र मेडिकलको व्यवस्था रहेको आयोजकले जनाएको छ । कार्यक्रममा सहभागीबाट सो विवेकले उठाइएको रकम नेपालका साइकलिङ च्याम्पियन स्व. नारायणगोपाल महर्जनको परिवारलाई आर्थिक सहयोग गरिने क्लबका अध्यक्ष ताम्राकारले बताए । महर्जन अन्तराष्ट्रिय प्रतियोगिता रम्बल इन जंगलमा सहभागिता जनाउने क्रममा दुघर्टनामा परि निधन भएका थिए ।
