नेकपा सरकारको चरम मनलाग्दी विरुद्ध काँग्रेस मकवानपुरले आन्दोलन चर्काउने

तु खबर संवाददाता
२०७५ श्रावण २, बुधबार १८:१०

मकवानपुर, ०२ साउन । नेपाली काँग्रेस मकवानपुरले नेकपा सरकारले मनलाग्दी रुपमा ल्याएको कर असुल्ने कार्यहरु लगायतका विरुद्ध आन्दोलन चर्काउने भएको छ । केन्द्रिय कार्यालयबाट घोषित भएको साउन १५ बाट हुने आन्दोलन चर्काउने निर्णय अनुसार नेपाली कांग्रेस मकवानपुरको जिल्ला कार्य समितिको आज बसेको बैठकले सरकारको अधिनायकवादी प्रवृत्ति विरुद्ध आन्दोलन चर्काउने निर्णय गरेको हो ।

पार्टी सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले सरकारको गलत प्रवृत्ति रोक्न दवाव दिने उद्देश्यले आन्दोलन चर्काउने निर्णय गरेको छ । बैठकमा बोल्दै पार्टी सल्लाहकार र जिल्ला सदस्यहरुले नेकपा नेतृत्वकको सरकारले जनतालाई मार पर्ने गरी करमा अत्याधिक बृद्धि गरेको, प्रेस स्वतन्त्रता कुण्ठित गर्ने काम गरेको, न्यायलय माथि हस्तक्षेप गरेको, स्वास्थ्य क्षेत्रको सुधारका लागि अनसनरत गोविन्द केसीको माग पुरा गर्न वेवास्ता गर्ने लगायतका गतिविधि बढाएकाले यसको विरुद्ध सशक्त प्रतिकार गर्नुपर्ने बताएका थिए ।

आजको बैठकबाट पार्टीको जिल्ला सहसचिवमा रामबाबु बानियाँ मनोनित भएका छन् । नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले बानियाँलाई सहसचिवमा मनोनित गरेका हुन् । बानियाँको मनोनयनलाई जिल्ला कार्यसमिति बैठकले अनुमोदन गरेको छ । त्यसैगरी, जिल्ला सदस्यमा नवराज सुवेदी र सुनिल अधिकारीलाई मनोनित गरेको छ । बैठकले विभिन्न १९ विभाग गठन गरी संयोजकहरु समेत तोकेको छ । जिल्लामा हुने प्राकृतिक विपदमा राहत एवं उद्धारका लागि पार्टीलाई परिचालन गर्ने निर्णय गरेको छ । जिल्ला सचिव आनन्द कठायतलाई संयोजक तोकी गाउँ, नगर एवं जिल्ला तहसम्म समन्वय गरी राहत र उद्धारमा खटिने निर्णय गरेको छ ।

बैठकले विपि स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्ने र सरकारको अधिनायकवादी प्रवृत्तिको विरुद्ध साउन १५ गते गर्ने जिल्लास्तरीय विरोध प्रर्दशनलाई प्रभावकारी बनाउने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप कोइरालाले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*