नेकपाले एक केन्द्रीय सदस्यलाई दुई गाउँपालिका जिम्मा लाउने
हेटौँडा, ३२ असार । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले पार्टी एकतापछि केन्द्रीय सदस्यको संख्या ह्वात्तै बढेको कुरालाई मध्यनजर गर्दै एक केन्द्रीय सदस्यलाई दुई गाउँपालिकाको इन्चार्जको जिम्मेवारी दिने तयारी गरेको छ ।
९ सदस्यीय केन्द्रीय सचिवालयले अन्तिम चरणमा पुर्याएको विधानमा केन्द्रीय सदस्यलाई गाउँपालिका–नगरपालिकाको इन्चार्ज बनाउने तयारी गरेको हो । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल बसेर ‘सहमति’ जनाउनासाथ विधान छाप्न पठाइने तयारी गरिएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
विगतमा एमालेका केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइन्थ्यो । पार्टी एकतापछि केन्द्रीय सदस्यलाई स्थानीय तहको इन्चार्ज बनाउने व्यवस्था विधानमा गरिएको खुलेको छ ।
केन्द्रीय सदस्यको संख्या ४ सय ४१ बनाइएपछि सबै केन्द्रीय सदस्यलाई भूगोलको जिम्मा दिन स्थानीय तहको इन्चार्जको जिम्मेवारी दिने तयारी गरिएको नेताहरूले बताएका छन् ।
