ढल्केबर सवस्टेशन ३ बर्षपछि बन्यो
काठमाडौँ, ३१ असार । तोकिएको समयभन्दा करीब तीन वर्ष ढिला गरेर ढल्केबर सवस्टेशन निर्माण सम्पन्न भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले सो सवस्टेशनमा जडान गरिएको ट्रान्सफर्मर चार्ज सम्पन्न भएको जानकारी दिएको छ । सो सवस्टेशनलाई नेपालको प्रसारण हवका रुपमा समेत लिइने गरिन्छ ।
चिनियाँ ठेकेदार कम्पनी सिसिपिजीबीच २९ जेठ २०७१ मा सम्झौता भएको थियो । सम्झौताअनुसार १५ महिनाभित्र सम्पन्न हुनुपर्ने थियो । तर तोकिएको समयभन्दा तीन वर्ष ढिला गरी सवस्टेशन निर्माण सम्पन्न भएको छ ।
तर ठेकेदारले तोकिएअनुसारको काम नगरेपछि प्राधिकरणले सन् २०१७ को २२ सेप्टेम्बरमा ठेक्का सम्झौता रद्द गरेको थियो । सो सवस्टेशन निर्माणका लागि शुरुमा चिनियाँ ठेकेदार सिसिपिजीले लिएको थियो ।
प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले १६० एमभिए क्षमताको दुई वटा ट्रान्सफर्मर चार्ज भएको बताए ।
नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फको सवस्टेशनमा २२०/१३२ केभी क्षमताको सवस्टेशनको एउटा ट्रान्सफर्मर शनिबार साँझ र अर्को आज अपराह्न परीक्षण गरिएको हो ।
