चौघडा रंगशालाको सडकमा गरिएको पिच १ दिनै भत्कियो, कारवाही गर्ने सिडिओको चेतावनी

तु खबर संवाददाता
२०७५ असार ३१, आईतवार ११:५३

बलराम पुडासैनी
मकवानपुर ३१ असार । मकवानपुरको हेटौंडा उप–महानगरपालिका वडा नम्बर ६ स्थित चौघडा रंगसालाको सडकमा गरिएको पिच उक्कीन थालेको छ । हिजो शनिवार मात्रै निर्माण सम्पन्न भएको पिच आजै उक्कीएपछि स्थानीयवासीहरुले पिच उक्काउँदै आक्रोश व्यक्त गर्न थालेका छन् ।

स्थानिय तहको निर्वाचन अगाबै तत्कालिन हेटौंडा उपमहानगरपालिकाले उक्त सडकमा पिच निर्माण गर्ने योजना अधि सारेको थियो । उक्त सडकमा पिच निर्माण गर्ने जिम्मा पाएको निर्माण व्यवसायी कम्पनी सुवेच्छा निर्माण सेवाले असारसम्म पनि निर्माणको शुरुवात नगरेपछि हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ ले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कारवाहिको माग सहित पत्राचार गरेपछि निर्माण कम्पनीले पिच निर्माणको काम हिजो रातारातनै गरेको थियो ।
आर्थिक बर्ष २०७३/०७४ मा निर्माण सम्पन्न गर्नुपर्नेगरी जिम्मा पाएको ठेकेदार कम्पनीले काम नसकिएको भन्दै २०७५ असार मसान्तसम्म पिच निर्माण सक्ने गरी म्याद थपको अनुमति पाएको नरपालिका स्रोतले जानकारी दिएको छ ।

पिच त निर्माण भयो तर किन कमसल भयो ? स्थानियहरुले चर्को गुनासो गर्न थालेका छन् । पिच निर्माण गरी असारमानै बजेट फच्र्यौटको लागि हतारीएको कारण निर्माण यस्तो कमसल हुन पुगेको स्थानीयहरु बताउँछन् ।

यस विषयमा तु खबरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष अर्जुन चौलागाँईलाई फोन सम्पर्क गर्दा आफुहरुले गुणस्तरीय पिच निर्माणको लागि पहल गरीनै रहेको बताए । आफुले पटक पटक पहल गर्दा समेत ठेकेदार कम्पनीले काम शुरु नगरेपछि अन्त्यमा प्रशासनमा उजुरी गरेको वडाध्यक्ष चौलागाँईले बताए ।

जानकारीकै लागि तु खबरले मकवानपुरका सिडिओ चक्रबहादुर बुढासंग प्रतिक्रिया लिँदा आफुहरुलाई उजुरी परेको र पिच निर्माण छिट्टै सकाउन भनेको बताए तर यस्तो कमसल निर्माण गर्न आफुहरुले सुझाव नदिएको बताए । उनले भने यसको बजेट फच्र्यौट गर्ने निकाय हामि हैनौं यदि गुणस्तरीय पिच निर्माण नभई बजेट फच्र्यौट भएको अवस्थामा सम्बन्धीत निकायलाई समेत कडा कारवाहि हुन्छ ।

५५ लाख रुपैयाँ लागतमा निर्माण गर्नुपर्ने उक्त पिचको लम्बाई २ दशमलव ४ किलोमिटर रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*