सवारी दुर्घटनामा ३ को मृत्यू
काठमाडौँ, २७ असार । मुलुकका छुट्टा–छुट्टै स्थानहरुमा भएको सवारी दुर्घटनामा परी ३ जनाको ज्यान गएको छ । नवलपरासीको बर्दघाट (सुस्ता पूर्व) बिनयी त्रिबेणी गाउँपालिका–६ शिवपुरस्थित सडकखण्डमा लु.३ त १०७४ नम्बरको ट्याक्टरले मंगलबार सोही ठाउँ बस्ने ४५ वर्षीय पैदलयात्री रमेश थापालाई ठक्कर दिँदा घट्नास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै सप्तरीको शम्भुनाथ नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा बा.१९ च १४२४ नम्बरको जिपले मंगलबार साईकललाई ठक्कर दिंदा गम्भीर घाईते भएका साईकलयात्री सोही नगरपालिका–१ खोक्सर बस्ने ४० वर्षीय श्रीलाल चौधरीको मृत्यू भएको छ । उनको सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । फरार जिप चालकको प्रहरीले खोजी गरिरहेको छ ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–१ बालुवा खोला नजिकै पूर्वपश्चिम राजमार्गमा ना.५ ख ५२२३ नम्बरको बसले हाल नाम, थर, र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष पैदलयात्रीलाई मंगलबार ठक्कर दिँदा उनको ज्यान गएको छ ।
ठक्करबाट गम्भीर घाईते भएका उनलाई उपचारार्थ न्युरो अस्पताल बिराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
