नेवाःताम्सालिङ समन्वय समितिको ‘काठमाडौं घोषणा पत्र’ले पहिचान र अधिकारको आन्दोलनमा धक्का पुर्याउँछ–गोले
हेटौँडा, २६ असार । मकवानपुरे युवा नेता शुभरत्न गोलेले नेवाः ताम्सालिङ समन्वय समितिले गत जेठ १५ गते जारी गरेको काठमाडौँ घोषणा पत्रले पहिचान र अधिकारको आन्दोलनमा धक्का पुराउने बताएका छन् । उक्त घोषणा पत्रमा त्रुटी भएको भन्दै उनले त्यसको खुलेर विरोध समेत गरेका छन् ।
प्रदेशको नामाकरण,राजधानी र अन्य विविध विषयमा प्रदेश सरकारले निर्णय गर्ने समय नजिकिएको समयमा प्रदेश नम्बर ३ मा सबैभन्दा ठूलो जनसंख्यामा रहेका तामाङ र नेवार समुदायले प्रदेशको नामाकरण पहिचानको आधारमा हुनु पर्ने माग गर्दै प्रदेशको नाम ‘नेवाःताम्सालिङ’ राख्न समेत पहल गरिँदै आएको छ । गत जेठ १५ गते काठमाडौंमा भएको नेवाःताम्सालिङ समन्वय समितिको राजनीतिक भेलाबाट प्रदेश सरकार समक्ष विभिन्न ८ बुँदे माग गर्दै काठमाडौँ घोषणा पत्र समेत जारी गरिएको थियो ।
घोषणा पत्रको पहिलो बुँदामा प्रदेशको नामाकरण गर्दा पहिचानको आधारमा नेवाःताम्साङि राख्नु पर्ने माग गरिएको छ । त्यस्तै दोस्रो बुँदामा सामाजिक एवम् साँस्कृतिक संरक्षण वा आर्थिक विकासका लागि विशेष संरक्षित वा स्वायत्त क्षेत्रको व्यबस्था गर्नु पर्ने माग गरिएको छ । तेस्रो बुँदामा प्रदेशको कामकाजी भाषामा नेपाली भाषासंगै नेपाल भाषा र तामाङ भाषालाई पनि स्थान दिनु पर्ने माग गरिएको छ । त्यस्तै ४ नम्बर बुँदामा मातृभाषामा अध्ययन अध्यापनको व्यबस्था गर्नु पर्ने माग गरिएको गरिनुका साथै पाँचौँ नम्बर बुँदामा प्रदेशको राजधानीको विषयमा प्रदेशसभाबाट काभ्रेको धुलिखेल,बनेपा र पनौती नगरपालिकालाई मिलाएर राजधानी बनाउनु पर्ने माग गरिएको छ ।
घोषणापत्रको छैँठौँ बुँदामा आरक्षणको ब्यवस्था हुनु पर्ने, सातौँ बुँदामा आदिवासी जनजाति समुदायको साँस्कृतिक तथा धार्मिक पर्वहरुमा पाउँदै आएको बिदालाई कटौती गर्न नहुने र ८ नम्बर बँुदामा प्रदेशको कानुन तथा निती,कार्यक्रम बनाउदा आदिवासी जनजाति सम्बन्धी अन्तराष्ट्रिय श्रम संगठनको मंहासन्धी नम्बर १६९ मा आधारित रहेर बनाउनु पर्ने लगायतको माग गरिएको छ ।
युवा नेता गोलेले घोषणा पत्रको पाँचौँ नम्बर बुँदाको खुलेर विरोध गरेका हुन् । गोलेले तत्काल गर्नुपर्ने पहिचान तथा अधिकारको आन्दोलनमा उक्त बँुदाका कारण ह्रास आउन सक्ने अनुमान गरेका छन् । फलस्वरुप मकवानपुरमा नेवाःताम्सालीङ समन्वय समितिको जिल्ला समितिले समेत पूर्णता पाउन सकेको छैन ।
नेवा ताम्सालीङ समन्वय समितिले आन्दोलनको तयारी स्वरुप प्रदेश नम्बर ३ भित्रका जिल्लाहरुमा जिल्ला स्तरीय समन्वय समितिको संगठन निर्माण कार्यलाई तिब्रता दिएको छ । तर काठमाडौं घोषणा पत्रमा राखिएको आठवटा बुँदाहरुमध्ये पाँच नम्बर बुदाको विरोध भएको छ । जसको कारण आदिवासी जनजाति आन्दोलनमा नै धक्का पुग्न सक्ने देखिन्छ ।
नेता गोलेले काठमाडौं घोषणा पत्रमा समाबेश गरिएको ८ वटा मागहरुमध्ये ५ नम्बर बुँदालाई सहर्ष स्विकार्न नसक्ने स्थिती रहेको बताए । हालको लागि प्रदेश नम्बर ३ को अस्थाअी राजधानी मकवानपुरको हेटौँडा रहेकाले यसैलाई कायम गर्दा राम्रो हुने धारणा समेत नेता गोलेले राखेका छन् ।
तर प्रदेशसभाबाट बहुमतको आधारमा प्रदेशको राजधानी जुन ठाउँ तोकेपनि स्विाकार्नु पर्ने स्थिती रहेकोले नेवा ताम्सालीङ समन्वय समितिले कुनै एक ठाउँलाई राजधानी हुनपर्ने माग राखेर आन्दोलनमा होमिदा अप्ठेरो हुने स्थिती देखा परेकोले यसलाई सच्याउन समेत गोलेले माग गरेका छन् । नेता गोलेले प्रदेश सचिवालयमा राजधानीको माग गर्दै बिभिन्न जिल्लाहरुले पनि प्रस्ताव दर्ता गरेको अबस्थामा उक्त जिल्लाहरुमा आन्दोलन गर्नमा मनोबैज्ञानिक रुपमा उप्ठेरो स्थिती सिर्जना हुने भएकोले समन्वय समितिलाई घोषणा पत्रको ५ नम्बर बुँदा सच्याएर आन्दोलनमा लाग्न आग्रह समेत गरेका छन् ।
वर्तमान अबस्था कुनै पनि तवरबाट पहिचान तथा अधिकारको आन्दोलन उठ्नु पर्ने स्थिती रहेकोले विवादित विषयहरुलाई आन्दोलनको मागको बुँदाहरुमा समावेश गर्न नहुने समेत तर्क गरेका छन् । भोलिको दिनमा प्रदेशको राजधानी काभ्रेको धुलीखेल रहन गएमा कुनै दुखेसो नरहने बताउँदै उनले वर्तमान समयमा उक्त विषयले आन्दोलनलाई उठ्न नदिने खालको वातावरण बनिरहेको नेता गोलेले बताए ।
सामथ्र्य, संरचना, सरकारी कार्यालय, सुगमता, यातायात लगायतका विषयमा बहस गरेर प्रदेशको राजधानी हेटौंडाबाट अन्यन्त्रै सार्नु पर्ने माग राखेमा उक्त माग गलत रहने समेत बताए । मकवानपुरको हेटौंडा उक्त सबै हिसाबले प्रदेशको राजधानी हुनका लागि योग्य रहेको समेत नेता गोलेले दाबी गरेका छन् ।
