करेन्ट लागेर २ जनाको मृत्यू
काठमाडौं, २६ असार । मुलुकका दुई छुट्टा–छुट्टै स्थानमा करेन्ट लागेर २ जनाको ज्यान गएको छ ।
धनुषाको जनकपुर उपमहानगरपालिका–१ स्टेश्न रोड स्थित राकेशकुमार साहको घरमा रहेको ओम बचत तथा ऋण सहकारी संस्थामा सरसफाई तथा चिया पकाउने काम गर्दै आएका ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–७ बस्ने २२ वर्षीय भोजकुमार भुजेलको करेण्ट लागेर मृत्यु भएको छ । सोही घरको छतमा रहेको पानी ट्याङ्कीमा पानी हेर्न जाँदा ट्याङ्कीमा जडान गरिएको साईरनको विद्युतीय तार सर्ट भई उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाईते भएका उनको उपचारको लागि जनकपुर अञ्चल अस्पताल लैजाने क्रमामा सोमबार बाटोमै मृत्यु भएको हो ।
त्यस्तै बाँकेको कोहलपुर नगरपालिका-१२ चप्परगौडिमा नगर विकास कार्यालय कोहलपुरका कार्यालय सहयोगी सल्यान सुईकोट-३ बस्ने ४० वर्षीय घन बहादुर के.सि.ले निर्माण सम्पन्न भईसकेको ढल नाप्ने क्रममा बिजुलिको तारमा छुँदा ज्यान गएको छ । करेण्ट लागेर घाईते भएकाले उपचारको लागि मेडिकल कलेज कोहलपुर लैजाने क्रममा सोमबार बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
