नायिका साम्राज्ञीले गरिन् ब्रेकअप
काठमाडौँ, २५ असार । कलिउड अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको ब्रेक अप भएको विभिन्न संचार माध्यमहरुले जनाएका छन् । केही वर्षदेखि व्यवसायी मयंक खड्कासँग प्रेम सम्बन्धमा रहेकी उनले ब्रेकअप गरेको बताइएको छ ।
प्राय एकसाथ बिताउनुका साथै सामाजिक सञ्जालमा समेत संगै देखिने उनीहरुले आफुहरुको प्रेमलाई भने सार्वजनिक रुपमा स्विकारी सकेका छैनन् । सार्वजनिक रुपमा स्विकार नगरे पनि उनीहरुको प्रेमको चर्चा चलिरहेको अवस्थामा अहिले उनीहरुको ब्रेकअपको हल्ला बाहिरिएको हो ।
उनीहरुको सम्बन्धमा खटपट भएको हल्लाकै बिच चलचित्र ‘तिमी सँग’ को प्रिमियरमा उनीहरु दुबै संगै देखिएपछि धेरैले उनीहरुको सम्बन्ध सुध्रिएको अनुमान गरेको थियो । तर समाचारहरुमा जनाइए अनुसार अहिले उनीहरु पुर्णरुपमा एकअर्काबाट टाढा भइसकेका छन् ।
समाचारहरुका अनुसार चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को छायांकनका लागि साम्राज्ञी दोस्रो पटक लण्डन पुगेपछि साम्राज्ञी र मयंकबीच खटपट सुरु भएको चर्चा छ । एक समाचारका अनुसार केही समय अघि डेजाभु क्लबमा तोडफोड भएपछि प्रहरीले यसका संचालकहरुलाई समात्ने क्रममा मयंक पनि एक रात जेल बसेका थिए । त्यसैबेलादेखि साम्राज्ञी मयंकसँग टाढिएको दाबी गरिएको छ ।
त्यस्तै मयंकले साम्राज्ञीमाथि शंका गर्न थालेपछि सम्बन्ध बिग्रिएको हल्ला समेत चलेको छ । मयंकले सामाजिक संजालमा लेखेको स्टाटसका आधारमा उक्त समाचार आएको हो । समाचार एजेन्सीले दाबी गरेता पनि नायिका साम्राज्ञी भने यस बारेमा मौन छिन् ।
