अनुमति नलिई एजुकेशन सेन्टर खोलेको आरोपमा हेटौँडाबाट एक जना पक्राउ
मकवानपुर, २४ असार । नेपाल सरकारको नीति नियम तथा सुचना समेतलाई अवज्ञा गरी कारोवार सन्चालन गरेको भन्दै मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर४ स्कूल रोडबाट एक व्यक्तिलाई पक्राउ गरिएको छ ।
स्कुल रोडमा रहेको रियल युनिक कम्पुटर ईन्स्टिच्युटको नाममा कारोबार खोली भित्रपट्टि अनुमति नलिईकन ब्रिलियन्ट एजुकेशन एण्ड करियर सर्भिर्सेज प्रा.लि.को शाखा भनि प्रमाणपत्र देखाएर व्यवसाय संचालन गरेको भन्दै इन्ष्टीच्यूटका संचालक हेटौँडा २ बस्ने भागवत कुमार श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालिएको हो ।
उक्त संस्थाले बिभिन्न ब्यक्तीहरुलाई आएल्ट्स् तथा टोफेल जस्ता भाषा शिक्षा प्रशिक्षण गर्नुका साथै बिभिन्न ब्यक्तिहरुको पासपोर्ट लिई कार्यालयमा राखी विभिन्न राष्ट्रमा पढ्न पठाउन शैक्षिक परामर्श दिने गरेको प्रहरीले बताएको छ ।
यसअघि नै जिल्ला प्रशासन कार्यालय मकवानपुरल असार १४ गते त्यस्ता एजुकेशन सेन्टरलाई अनुमति लिएर मात्र संचालन गर्न सूचना जारी गरेको थियो ।
दर्ता नभएका त्यस्ता संस्थाले अबैध रुपमा शैक्षिक परामर्श वा भाषा शिक्षा केन्द्र ट्युसन तथा कोचिङ केन्द्रहरु खोली अध्ययन भिसामा विभिन्न देशहरुमा राम्रो काम पाउने तथा राम्रो काममा लागईदिने भनी प्रलोभन दिँदै फसाउँदै आएको प्रहरीले जनाएको छ । त्यस्ता संस्थाले युवायुवतीमा भ्रम छरी लाखौँ रकम असुल्ने गरेको बताइएको छ । साथै मानव बेचविखनमा समेत दर्ता नभएका संस्थाहरु लाग्ने गरेको बताइएको छ ।



