हेटौँडाको धार्मिक तथा पर्यटकीय स्थलमा साउन ५ गते साईकलमा सरर
मकवानपुर, २४ असार । हेटौँडाका विभिन्न धार्मिक तथा पर्यटकीय स्थल हुँदै आउँदो साउन ५ गते साईकल यात्रा हुने भएको छ । हेटौँडा राइडर्स क्लबले हेटौँडा कोरा २०१८ अप्रतियोगी साईक्लिङ च्यालेन्ज कार्यक्रम गर्ने भएको हो ।
५० किलोमिटर दुरीको हेटौँडा कोरा कार्यक्रममा साईकल मार्फत हेटौँडा घुमिने क्लबका अध्यक्ष विकास ताम्राकारले बताएका छन् । साउन ५ गते बिहान ७ बजे भुटनदेवी मन्दिरमा भेला भइ सुरु हुने साईकल यात्रा बुद्ध चोक हुँदै चौकी टोल, बनस्खण्डी, चौघडा, चुच्चेखोला, राजदेबी,दोभान चौर हुँदै, एक्ले खेत, फुर्केचौर, हर्नामाडी, गुम्बाडाँडा, हटिया, शिखरपानी, पनेस, सल्लाघारी, नयाँबस्ती हुँदै कुष्माण्ड सरोवर त्रिवेणी धाम, कर्राको गुम्बा हुँदै पशुपति मन्दिरको दर्शन गर्दै बुद्धचोकमा आएर सकिनेछ ।
नेशनल च्याम्पियन स्वर्गीय नारायण गोपाल महर्जनको परिवार सहयोगार्थ आयोजना गरिएको साइकल यात्रामा फारम भरेका साईकल यात्रीहरुले मात्र सहभागी हुन पाउने छन् । नेशननल च्याम्पियन महर्जनको गत जुन १३ मा रम्बल ईन जंगलमा साइकल रेशमा सहभागी हुने क्रममा श्रीलंकाको मावली रिभरमा निधन भएको थियो ।
