‘नो पार्किङ’ का विषयमा मउवा संघ र उपमहानगरबिच वार्ता हुने
हेटौँडा,२४ असार । ‘नो पार्किङ’ का विषयलाई लिएर मकवानपुर उद्योग वाणिज्य संघ र हेटौँडा उपमहानगरपालिकाबिच वार्ता हुने भएको छ । उपमहानगरले व्यवसायी तथा संघसँग कुनै परामर्श नै नगरी अचानक हेटौँडाको राप्तिरोडमा ‘नो पार्किङ’ जोन घोषणा गरेपछि आन्दोलनमा उत्रने तयारी गरेको संघलाई मथ्थर पार्न वार्ता हुने भएको हो ।
तु खबरलाई प्राप्त जानकारी अनुसार संघ र उपमहानगरबिच अपरान्ह वार्ता हुने तयारी भएको हो । वार्तामा दुबै पक्ष अडिग रहने देखिएता पनि केही लिखित सम्झौता हुन सक्ने बताइएको छ ।
संघले शुक्रबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि आईतबारबाट ‘नो पार्किङ’ अभियानको बिरोधमा आन्दोलनको घोषणा गरेको थियो । संघका अध्यक्ष कृष्ण कटुवालले हेटौँडा उपमहानगरपलिकाले ब्यवसायीहरुसँग समन्वय नगरि एक पक्षिय ढंगबाट अब्यवहारिक काम गरेको भन्दै उपमहानगरको निर्णय बिरुद्ध आन्दोलनको घोषणा गरेको बताएका थिए ।
आन्दोलनको कार्यक्रम अन्र्तगत असार २४ गते आज ‘नो पार्किङ’ को अवज्ञा गर्ने, २५ गते हेटौँडा उपमहानगर क्षेत्रमा सिठी जुलुस गर्ने, २६ गते हेटौँडा बजार बन्द गर्ने, २७ गते ब्यवसाय बन्द गरी चाबी उपमहानगर कार्यालयमा बुझाउने र २८ गते थप शसक्त आन्दोलनको कार्यक्रमहरु अगाडी बढाउने तय भएको थियो ।
अध्यक्ष कटुवालले नगर क्षेत्रमा विकल्पहरु प्रशस्त रहेको अवस्थामा उपमहानगरले ब्यवसायीलाई समस्या पार्ने हिसाबमा एकपक्षिय काम गरेको दाबी गरेका छन् । पत्रकार सम्मेलनमा उनले आफुहरु उपमहानगरपालिकामा ज्ञापनपत्रको लागि जाँदा आफुहरुलाई वेवास्ता गर्न खोजिएको भन्दै हेटौँडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यशैलीको समेत भत्र्सना गरेका थिए । त्यस्तै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले भने बिकल्प दिएर राप्तिरोडबाट हटाइएको पार्किङ कुनैपनि हालतमा फिर्ता लिएर फेरी बजारमा जाम बढाउने पक्षमा आफु नरहेको बताउँदै आएका थिए ।
