झापाको अलकत्रा उद्योगमा युवा संघले लगायो ताला
झापा, २३ असार । झापाको कनकाई नगरपालिकामा सञ्चालित एक अलकत्र उद्योगमा युवा संघ नेपाल झापाले तालाबन्दी गरेको राससले जनाएको छ ।
युवा संघले गुणस्तरहीन अलकत्र उत्पादन गरेको भन्दै कनकाई– १ मा रहेको शिव निर्माण सेवामा शुक्रबार तालाबन्दी गरेको हो । ‘यहाँबाट उत्पादित अलकत्रा प्रयोग गरेर निर्माण गरिएका सडक केही समयमै उक्किन थालेका छन् । युवा संघ झापाका अध्यक्ष शम्भु भण्डारीले भन्नुभयो ।
शिव निर्माण सेवाले उत्पादन गरेको अलकत्र प्रयोग गरिएका सबैजसो कालोपत्रे गुणस्तरहीन भएको युवा संघ नेपालका केन्द्रीय सदस्य त्रिलोचन सापकोटाले बताए । उनले विकास निर्माणको काममा गुणस्तरहीन वस्तुको प्रयोग गर्न नमिल्ने उल्लेख गरे ।
जिल्लाको विभिन्न स्थानमा निर्माण भएका सडक गुणस्तरहीन भएको भन्दै स्थानीयबासीले गुनासो गरेपछि युवा संघले अनुगमन गरेको छ । अनुगमनका क्रममा शिवसताक्षीको धरमपुर–पाराबारी ९ किलोमटर सडक, कनकाई नगरपालिकास्थित लक्ष्मीपुर चोकमा सडक फराकिलो बनाइएको ठाउँ र अर्जुनधाराको जयपुरमा १ किलोमिटर कालोपत्रेको अवस्था गुणस्तरहीन भेटिएको केन्द्रीय सदस्य सापकोटाले बताए ।
