जापानका चर्चित खेलाडी होन्डा र हासेबेले लिए सन्याश
एजेन्सी, २० असार । जापानको राष्ट्रिय फुटबल टोलीका दुई चर्चित खेलाडी केइसुके होन्डा र माकोतो हासेबेले विश्वकपको प्रिक्वार्टर फाइनलबाट बाहिरिएसँगै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।
प्रि–क्वार्टरफाइनलमा बेल्जियमसँग २–० ले अगाडि भएर पनि जापान बेल्जियमसँग हार्न पुगेको थियो । नासेर चाड्लीले खेल सकिन केही सेकेण्ड मात्रै भएको अवस्थामा गोल गर्दै बेल्जियमलाई जिताएका थिए । २–० ले अगाडि भएर पनि जापान बेल्जियमसँग ३–२ ले हार्न पुग्यो ।
होन्डा रुस विश्वकपमा सुरुवाति ११ मा परेनन् । उनी सब्स्टिच्यूटका रुपमा मैदान प्रवेश गरेका थिए । होन्डाले जापानका लागि ९८ खेल खेलेका छन् भने ३७ गोल गरेका छन् ।
होन्डा तीनवटा विश्वकपमा गोल गर्ने पहिलो जापानी खेलाडी हुन् । उनले २०१० को विश्वकपमा डेनमार्क तथा क्यामरुनविरुद्ध एक–एक गोल गरेका थिए । त्यस्तै २०१४ को विश्वकपमा आइभोरी कोस्टिवरुद्ध एक गोल गरेका थिए । रुस विश्वकपमा पनि सेनेगलविरुद्ध उनले बराबरी गोल गरेका थिए ।
एसी मिलान तथा सीएसकेए मस्कोका पूर्व खेलाडीसमेत रहेका होन्डाले यो नै आफ्नो अन्तिम विश्वकप भएको बताए ।
होन्डासँगै जापानी कप्तान हासेबेले पनि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । हासेबेले जापानका लागि ११४ खेल खेलेका छन् । उनले सन् २००२ मा जापानको राष्ट्रिय टिममा डेब्यू गरेका हुन् । विश्वकपमा कोलम्बियाजस्तो बलियो टिमलाई समेत हराएर इतिहास रचेको छ ।
