हेटौँडाको प्रोजियोकेम कम्पनीबाट १४ जना मजदुर पक्राउ

तु खबर संवाददाता
२०७५ असार २०, बुधबार १५:५९

–चन्द्र घलान
मकवानपुर २० असार ।
हेटौँडा औद्योगिक क्षेत्रमा रहेको प्रोजियोकेम प्रा.लि.बाट १४ जना मजदुरलाई बुधबार मकवानपुर प्रहरीले पक्राउ गरेको छ । उद्योगले मजदुरहरुलाई अचानक अन्य जिल्लामा सरुवा गरी काम गर्नको लागि धम्कीपुर्ण व्यवहार देखाएको भन्दै मजदुरहरुले आन्दोलनको कार्यक्रम अन्तर्गत उद्योग परिसरमा धर्ना दिइएको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी नरेशकुमार सिंहका अनुसार मजदुरहरुले मनलाग्दी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा खबर प्राप्त भएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो । ‘मजदुरहरुले तोडफोडकै अवस्था सिर्जना गरेको भन्दै उद्योगबाट उजुरी परेपछि हामीले उहाँहरुलाई नियन्त्रणमा लिएका हौँ,’ उनले भने , ‘उहाँहरुमाथि आवश्यक छलफल र अनुसन्धान भइरहेको छ ।’

अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर संघले गएको शुक्रबार २ दिने अल्टिमेटम पत्र कम्पनीमा बुझाएको थियो । अल्टिमेटम पश्चात शनिबार मजदुरहरुले उद्योगमा शान्तिपुर्ण प्रदर्शन समेत गरेको थियो । प्रदर्शनकै क्रममा आज उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

उद्योगले आफ्ना मजदुरहरुसँग छलफल नगरी धम्कीको शैलीमा कम्पनीको ओभन प्लान्ट मेसिन समेत अन्यत्र जिल्लामा सार्ने भन्दै उद्योगले गएको जेठ ३१ गते मजदुरहरुलाई जानकारी गराएको मजदुरहरुको आरोप छ । उद्योगमा कार्यरत २४ जना मजदुर मध्ये १६ जना मजदुरलाई बाराको परवानीपुर गाउँपालिकामा गएर काम गर्नको लागि धम्कीपुर्ण आदेश दिएको भन्दै संघ विरोधमा उत्रिएको हो ।

उद्योगमा नयाँ मेसिन ल्याउन लागेको र थप ३० जना कामदार पनि चाहिएको अवस्थामा ओभनलाई बारामा पठाउने बहाना बनाउँदै जिल्ला निवासी कर्मचारीहरुलाई अन्यन्त्र सार्ने प्रपञ्च रचेको र त्यहाँबाट आफुहरुलाई निकाल्ने षड्यन्त्र रचिएको मजदुरहरुले आरोप लगाउँदै आएका छन् ।

आफुहरुलाई असार १६ गते भित्रमा यस बिषयमा छलफल गरी रोगगारीको ज्ञारेन्टी नगरे असार १७ गतेबाट पुर्ण रुपमा आन्दोलनमा उत्रने भन्दै दिइएको अल्टिमेटम अनुसार नै मजदुरहरुले आन्दोलन सुरु गरेका हुन् । मजदुरहरुले आफुहरुलाई अन्य जिल्लामा गएर काम गर्दा कम्पनीको तलबले नधान्ने र काम छोड्न बाध्य हुने समेत बताउँदै आएका छन् । मजदुरहरु मकवानपुरका कर्मचारीलाई मकवानपुरमै राख्नुपर्ने अडानमा छन् भने कम्पनीले उनीहरुलाई सरुवा भएर जानुपर्ने बताउँदै आएको छ ।
हेर्नुहोस् मजदुरहरुको गुनासो–

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*