रात्रिभोजको १० लाख बजेटमा स्थापितको कमेडी–‘रमाईलो गर्न अर्को १० लाख थपौँ’, मुख्यमन्त्रीको आग्रह–‘विरोध नगरीदिनुस्’

तु खबर संवाददाता
२०७५ असार २०, बुधबार १०:३६

मकवानपुर, २० असार । प्रदेश नम्बर ३ को बजेट पारित भइसकेपछि रात्रि भोज गर्न विनियोजन भएको १० लाख बजेटको संसदमा विरोध भएपछि त्यसको जवाफ दिने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले कमेडी जवाफ दिएका छन् ।

प्रदेशसभा बैठकमा मंगलबार विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मुख्यमन्त्री डोरमणि पौडेलले रात्रिभोजमा विनियोजन भएको बजेटको विरोध नगर्न आग्रह गरे । उनले भने–‘हात जोडेर भन्छु रात्रिभोजको बजेटबारे विरोध नगर्नुस् ।’

मुख्यमन्त्रीले आग्रह गरिरहँदा सम्बोधनका क्रममा मन्त्री स्थापितले संसदमा हाँसो गुञ्जने गरी हँसाए । रात्रिभोजका लागि विनियोजन गरिएको १० लाख रुपैँयाको समर्थन गर्दै स्थापितले बजेट पास भएको खुशीयालीमा अहिले छुट्याएको १० लाख अपुग भएको भन्दै थप १० लाख छुट्याउनुपर्ने बताए । उनले आफुले पनि धेरैसंग बजेट निर्माणका क्रममा सुझाव लिएको, कर्मचारीसमेत यसमा खटिएको भन्दै केही रमाईलो गर्नका लागि बजेट विनियोजन भएको बताए । ३५ अर्ब बजेटको अति नै न्यून बजेट रात्रि भोजमा राखेको भन्दै विरोध गर्नु नपर्ने उनको तर्क थियो ।

बजेटमा मूख्यमन्त्री कार्यालयको कार्यक्रम खर्च अन्तरगत ‘प्रदेश सरकारको नीति कार्यक्रम पारित पछि गरिने रात्रिभोज कार्यक्रम’ शिर्षकमा १० लाख रुपैंया विनियोजन गरिएको छ । बजेट विनियोजनमाथि प्रदेशसभा सदस्यहरुले विरोध गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*