‘बोल्न सक्ने भएँ, पार्टीले उम्मेदवार बनायो’

तु खबर संवाददाता
२०७५ असार १८,सोमबार १६:०४

‘स्थानीय तहको चुनावमा उम्मेदवार पनि भएको थिएँ तर जित्न चैँ पाइनँ,’ मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ लामिटारकी विष्णुमाया बलले भनिन्, ‘गाउँको हाइस्कुलको व्यवस्थापन समितिमा पनि छु, पहिला पर्सा वन्यजन्तु आरक्ष अन्तर्गतका उपभोक्ता समितिमा पनि बसेर काम गरेको हुँ ।’

विष्णुमायाजस्तै स्थानीय महिला आवद्ध समूह हो गाउँ सुधार स्वालम्बन समूह । समूहमा सचिव छिन् विष्णुमाया । ३ कठ्ठा जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेकी छिन् । घरमै किराना पसल पनि छ । गाउँका विकासे योजनामा अचेल विष्णुमाया र उनको समूहको पनि भूमिका हुने गरेको छ । समाजमा अगुवा महिला नेता मानेर नै उनलाई २०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले वडा सदस्यको उम्मेदवार पनि बनाएको थियो । अर्थात् विपन्न समुदायका सदस्य पनि समाजमा नेतृत्व तहमा पुग्न सक्छन् भन्ने उदाहरण हुन् विष्णुमाया बल ।

‘तरकारी खेती त पहिला पनि गरेकै हो तर कति विषादि राख्ने, कुन समयमा के गर्दा फाइदा हुन्छ भन्ने थाहा नहुँदा आम्दानी लिन सकेका थिएनौँ,’ विष्णुमायाले भनिन्, ‘समूहमा बसेपछि धेरै जानकारी भयो, तालिम लियौँ र बेमौसमी तरकारी खेतीबाट आम्दानी लिन सकिन्छ भन्ने जानकारी भएपछि जग्गा भाडामा लिएर तरकारी खेती शुरु गरेँ ।’ विष्णुमाया बाँकी समय किराना पसलमै व्यस्त हुन्छिन् । गाउँपालिकामा उनको किराना पसल पनि दर्ता छ ।

‘६३ हजार रुपैयाँ जति बचत गरेका छौँ र त्यो पैसा समूहकै सदस्यमा लगानी गरेका छौँ,’ विष्णुमायाले भनिन्, ‘पहिला ५० रुपैयाँ बचत गरेका हौँ, अहिले एकसय रुपैयाँ गर्न थालेका छौँ ।’ थोरै पैसा पनि समूहमा जम्मा गर्दा धेरै हुने र सदस्यहरुको समस्या टर्ने मात्र होइन, आयआर्जनका काममा समेत सदुपयोग हुने विष्णुमायाको विश्वास छ । भन्छिन्, ‘साथीहरु बाख्रा पाल्न थालेका छन्, अन्य आयआर्जनका काममा लागेका छन् । थोरैबाट शुरु गर्दा पनि राम्रो आम्दानी हुन थालेपछि समयमै समूहबाट लगेको ऋण पनि तिरेका छन् ।’

‘आलुखेतीको पकेट एरिया हो यो ठाउँ, ३० कठ्ठामा आलु रोपेका छौँ र आलुको बीउ कोल्ड स्टोरेजमा स्टोर गरेका छौँ,’ विष्णुमायाले भनिन्, ‘पहिला त बोल्न पनि राम्ररी आउँथेन, समूहमा लागेर सामुदाियक अभियानमा हिँडेपछि समाजका समस्या समाधानसँगै स्थानीयतहमा नेतृत्वमा महिलाको उपस्थिति पनि बाक्लो भएको छ ।’ समूहले आफ्नै भवन बनाएको छ । समूहले बनाएको भवनमै गाउँमा केही घटना भए कचहरी बस्न थालेको छ । छलफल, भेला, तालिमका लागि सजिलो भएको छ ।
‘पशुपति माध्यमिक विद्यालय हाँडिखोलाको व्यवस्थापन समितिमा पनि छु,’ विष्णुमाया भन्छिन्, ‘समूहमा लागेपछि गाउँका विकास निर्माण काममा पनि जोडिएका छौँ ।’ समूहको पहलमा गाउँमा स्लाब ढलान भएको छ । धारा, शौचालय बनेका छन् । समूहका सदस्यको घरमा शौचालय नहुँदा समस्या परेको देखेपछि सहयोग दिइएको विष्णुमाया बताउँछिन् । ‘समूहको भवन बनाउने बेला निकै गलफत्ती प¥यो,’ विष्णुमायाले भनिन्, ‘भवन बनाउन खोज्यौँ, जग्गा नै नदिने भनेर अड्काउँछन्, आखिर भवनलाई जग्गा लिइछाड्यौँ, यो पनि एउटा उपलब्धी नै लाग्छ जीवनमा ।’

समूहमार्फत बालबालिकालाई कोचिङ कक्षा पनि सञ्चालन भएको छ । किशोरी समूहलाई तालिम अनि गाउँघरको बाटोघाटो निर्माणदेखि हरेक घटनामा समूह बेखबर छैन, बरु समूहका नेतृत्वलाई पनि छलफलमा खबर आउन थालेको छ । अर्थात्, के गर्ने, कसो गर्ने भनेर समूहका सदस्य पनि निर्णय दिन सक्ने भएका छन् । विष्णुमाया भन्छिन्, ‘आयआर्जनका कामले महिलालाई ठूलो ढाडस हुँदोरहेछ अनि सामाजिक अभियानमा पनि सक्रिय बनाउँदोरहेछ ।’ आयआर्जनमा होमिन सके समाजले सम्मान दिने विष्णुमायाको अनुभव छ ।

 

‘तीन वर्ष समूहमा बसेर काम ग¥यौँ, अब एउटा स्थानीयस्तरको सामाजिक संस्था खोल्ने तयारीमा छौँ, विकास निर्माण, हकअधिकारदेखि न्याय र निरुपणसम्मका काम संस्थाबाट गर्ने सोचमा छौँ,’ विष्णुमायाले भनिन्, ‘

सामाजिक संस्था स्थापना र दर्ताको प्रक्रियामा छौँ, त्यसपछि संस्थामार्फत नै गाउँपालिकामा विकास बजेट माग्नेछौँ, आफैँ काम गर्नेछौँ ।’ विष्णुमाया गाउँका सहकारी संस्था, सामुदायिक वन, विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समूहमा पनि महिलाको पहुँच बढुदै गएको बताउँछिन् । भनिन्, ‘हामीले समाजमा केही राम्रा काम गरेका छौँ, त्यसैले समूहको काम देखिएको छ तर सबभन्दा ठूलो कुरा त यो हो कि, समाजले हामीलाई हेर्ने नजर पनि बदलिएको छ, हामीलाई दिने सम्मानले समाजमा अरु केही उदाहरणीय काम गरौँ भन्ने उत्साह पनि थपिएको छ, समूहमा लागेर बोल्न सक्ने हुँदा आफ्नो अधिकार लिन सक्दारहेछौँ भन्ने भएको छ ।’ आर्थिक हैसियत बलियो हुनु मात्र परिवर्तन होइन, समाजमा भूमिका र सम्मान सबैभन्दा ठूलो कमाइ हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*