काँग्रेस नेता न्यौपानेले गरे हाँडीखोलाका विद्यार्थीलाई सहयोग
मकवानपुर, १५ असार । नेपाली काँग्रेस मकवानपुरका नेता शंकर न्यौपानेले हाँडीखोलामा अवस्थित सीता माविका विद्यार्थीहरुलाई छात्रवृत्ति वापत रकम सहयोग गरेका छन् । तामाङ समुदायका बालबालिका अध्ययनरत मनहरी गाउँपालिका–२ भुन्द्रुङ टाँडीमा रहेको सीता माविमा शुक्रबार एक कार्यक्रमकाबीच गरिब विद्यार्थीको लागि छात्रवृत्ति स्वरुप उनले २५ हजार रुपैंयाको चेक हस्तान्तरण गरेका हुन् ।
गत स्थानीय निर्वाचनमा कांग्रेसको तर्फबाट मनहरी गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार समेत रहेका उनले चुनावमा हार व्यहोरेपनि आफूले गरेका प्रतिवद्धताहरु सकेसम्म पूरा गर्ने अभियानमा आफू रहेको बताए । ‘म राजनीतिसंगै व्यवसायमा पनि आबद्ध छु, कमाएको रकमको केही प्रतिशत समाजसेवामा लगाउने उद्देश्य अनुरुप अघि बढिरहेको छु’, उनले भने, ‘चुनावको बेला यो विद्यालयलाई सहयोग गर्छु भनेर बोलेको पनि थिए । मलाई सामाजिक काम गर्दा सन्तोष मिल्ने गरेको छ ।’
समाजसेवालाई संस्कारको रुपमा विकास गर्नुपर्ने औंल्याउँदै उनले गाउँपालिकाको अध्यक्षको रुपमा सेवा गर्न नपाए पनि आफ्नो तवरले समाज सेवामा लागिरहने प्रतिबद्धता समेत जनाए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजकुमार पाख्रिनको अध्यक्षतामा भएको सहयोग रकम हस्तान्तरण कार्यक्रममा स्थानीय त्रिरत्न प्राविका अध्यक्ष गुणसिंह रुम्बा, सीता माविका सल्लाहकार चन्द्रबहादुर मोक्तान, व्यवस्थापन समिति सदस्य शान्तिमाया थिङलगायतले विद्यालयको अवस्थाको बिषयमा जानकारी गराउँदै सहयोगीको खाँचो रहेको औंल्याएका थिए ।
विद्यालयमा ६ सय बिद्यार्थी रहेकोमा २ जना बाहेक सबै तामाङ समुदायका बालबालिकाहरु अध्ययनरत रहेका छन् । विद्यालयका प्रधानाध्यापक हरिप्रसाद अर्यालका अनुसार करिब ३ घण्टासम्म हिंडेर बालबालिकाहरु पढ्न आउने गरेका छन् । विद्यालयमा प्रावि र निमावि गरी ८ जनाको दरबन्दी रहेको छ भने माविको दरबन्दी नरहेको बताइएको छ ।
