एस.ई.ई.मा सतप्रतिशत विद्यार्थी पास भएपछि हाँडीखोलामा खुशियाली

तु खबर संवाददाता
२०७५ असार १३, बुधबार १९:५७

मकवानपुर, १३ असार । माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सतप्रतिशत विद्यार्थी पास भएको खुसियालीमा मनहरी गाउँपालिका–३ हाँडीखोलामा रहेको महेन्द्रज्योति उच्च माविले विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै खुसी साटासाट कार्यक्रमको आयोजना गरेको छ । विद्यालयबाट ३४ जना विद्यार्थी एसईई परीक्षामा सामेल भएकोमा ३४ जना नै विद्यार्थीहरु विभिन्न ग्रेडमा पास भएको शिक्षक नरहरि नन्दन उप्रेतीले जानकारी दिए ।

विद्यालयले पास भएका विद्यार्थीहरुको भेला गरी टीका र खादा लगाउँदै शुभकामना व्यक्त गरेको थियो । महेन्द्रज्योति उच्च माविका अध्यक्ष चन्द्रबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य गोकुलप्रसाद शर्मा, सहप्राचार्य विदुरविक्रम थापालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । ग्रामीण क्षेत्रमा रहेको विद्यालयले स्रोत र साधनको अभावकाबीच पनि सतप्रतिशत नतिजा ल्याउन सफल भएको भन्दै प्राचार्य शर्माले खुसी व्यक्त गरे ।

विद्यालयका अध्यक्ष राईले विद्यालयलाई सुधार्दै अघि बढिरहेको जानकारी दिंदै परीक्षामा सफल भएका विद्यार्थीहरुलाई आफ्नो इच्छा अनुसारको बिषय अध्ययन गर्न सुझाव दिए । महेन्द्रज्योति उच्च माविमा दश जोड दुईको समेत पढाई हुँदै आएको छ । कार्यक्रममा व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक, स्थानीय समाजसेवीलगायतको उपस्थिती थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*