अधिकांश उद्योगको सामान गुणस्तरहिन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुरले गर्यो ११ उद्योगमा शिलबन्दी
मकवानपुर, १३ असार । प्रदेश नम्बर २ र ३ मा रहेका अधिकांश खाद्य उद्योगहरुले गुणस्तरहिन सामान उत्पादन गरेको रहस्य खुलेको छ । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुर हेटौँडाले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म वीरगञ्जलगायत क्षेत्रमा सञ्चालित उद्योगमध्ये अधिकांशले गुणस्तरहिन सामान उत्पादन गरी ठगी गरेको भन्दै ११ वटा उद्योगमा शिलबन्दी गरी कारवाही गरेको छ ।
प्रदेश नं २ को ८ जिल्ला तथा प्रदेश नं ३ को सिन्धुली, हेटौँडा र चितवन कार्य क्षेत्र रहेको सो कार्यालयले ५७२ वटा उद्योगको नमूना संकलन गर्दा ५१५ उद्योगले गुणस्तरहीन सामान उत्पादन गरेको पाइएको छ । चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा घ्यू, तेल, दूध, पानीलगायतका सामग्री उत्पादन गर्ने ९८ उद्योगमाथि मुद्दा दायर गरिएको छ भने २९ पटकसम्म अनुगमन गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयले उक्त अवधिमा हेटौँडा, चन्द्रनिगाहपुर र लालगढमा रहेका होटलमा अनुगमन गरी खाद्य स्वच्छताको प्रमाणपत्र दिइएको जनाएको छ ।
