हेटौँडा–पदमपोखरी रिङ रोड सम्भाव्यता तथा विकास अध्ययनका लागि अर्थमन्त्री ढुङ्गेल पदमपोखरीमा

कुख्रेनी पुल नबनाउनेलाई ब्ल्याक लिष्टमा राख्ने चेतावनी
तु खबर संवाददाता
२०७५ असार १३, बुधबार १७:०६
Padampokhari Anugaman-Tukhabar 11
Padampokhari Anugaman-Tukhabar 11

–चन्द्र घलान
हेटौँडा, १३ असार ।
प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री (अर्थ मन्त्री) कैलाश ढुङ्गेलले हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ र १३ को अनुगमन गरेका छन् । पूर्व सांसद केदार न्यौपाने, उपमहानगरपालिकाका उपमेयर मीना लामा, १२ नम्बर वडा अध्यक्ष ललित घलान तथा १३ नम्बर वडा अध्यक्ष मनोजकुमार वाईबा सहितको टोली सम्मिलित अनुगमन टोलीले हेटौँडा–पदमपोखरी रिङ रोडको सम्भाव्यता समेत अध्ययन गरेको छ ।

मन्त्री ढुङ्गेलले हेटौँडा १२ को रमन्टार र हेटौँडाको तिनताप्के जोड्ने निर्माणाधिन पुल तथा हेटौँडा ९ लामसुरे र हेटौँडा १३ पदमपोखरी जोड्ने कुख्रेनी खोलामा निर्माणाधिन पुलको समेत निरिक्षण गरेका छन् । अनुगमनका क्रममा मन्त्री ढुङ्गेलले जिल्ला सदरमुकामसँगै जोडिएर पनि विकासमा पछि परेको पदमपोखरीमा मानव बस्ती विकास, भौतिक विकास तथा रिङ रोड निर्माणमा चासो देखाएको वडा नम्बर १२ का वडाअध्यक्ष ललित घलानले बताए । तिनताप्केदेखि पदमपोखरी हुँदै हेटौँडाको बुद्ध चोक र पून तिनताप्के हुँदै रिङ रोडको निर्माण गर्न सकिने बारे मन्त्री ढुङ्गेलले जोड दिएको १३ नम्बर वडा अध्यक्ष मनोजकुमार वाईबाले जानकारी दिए ।

‘रिङ रोडको सम्भाव्यता’
तिनताप्केहुँदै पदमपोखरीको रमनटार र हेटौँडा जोडिने गरि रिङ रोडको अवधारणा करिब ५ वर्ष अगाडि नै बनेको हो । रिङ रोड बनाउने अवधारणा अनुसार नै हेटौँडा १२ रमेश चोक, मगर टोल, घरेडी डाँडा तथा रमनटारका स्थानीयले मुआब्जा नलिइकनै बाटो विकास हुने आसामा मुख्य रोडलाई थाँती राखेर आफ्नो जग्गाको बिचैबाट नयाँ बाटोको ट्रयाक खोल्ने अनुमति दिएका थिए ।

मुख्य बाटोमा भिर हुनुका साथै घर समेत पर्ने भएपछि बारीको बिचबाटै सडकको ट्रयाक खोलिएको हो । समय–समयमा ग्राभेलिङ गर्दै छोडिए पनि खासै प्रयोगमा नआएको उक्त बाटो हुँदै रिङ रोड निर्माण भएपछि पदमपोखरीको विकासले फड्को मार्ने समेत सम्भावना रहेको स्थानीयहरु बताउँछन् ।


‘पर्यटकीय स्थलको सम्भाव्यता अध्ययन’
पदमपोखरीमा पर्यटनको सम्भावना तथा प्रदेशले पुराउनुपर्ने योजनाहरुको समेत मन्त्री ढुङ्गेलले सम्भाव्यता अध्ययन गरेका छन् । पर्सा बन्यजन्तु आरक्षसँग समन्वय गरि पदमपोखरीमा विभिन्न पर्यटकीय स्थल निर्माण गर्न पहल गर्ने विषयमा समेत छलफल भएको वडाअध्यक्ष घलानले जानकारी दिएका छन् । पदमपोखरीको आर्थिक विकास, सामाजिक विकास तथा उत्पादन क्षेत्र र कृषि विकासको सम्भाव्यता समेत अध्ययन गरिएको छ ।

यस अघि नै स्थानीय तहको चुनावका समयमा समेत तात्कालिन समयमा वडाअध्यक्षका उम्मेदवार रहेका वडा अध्यक्षद्वय घलान र वाईबाले पदमपोखरीमा विभिन्न पिकनिक स्पट समेत निर्माण गर्ने प्रतिबद्धत्ता जनाएका थिए ।

‘पदमपोखरीमा प्राविधिक विद्यालय र सिनेमा हल’
मन्त्री ढुङ्गेलले हेटौँडा १३ पदमपोखरीमा अवस्थित महेन्द्र उच्च माविमा प्राविधि शिक्षालय निर्माण गर्ने बारेमा समेत चासो देखाएका छन् । वडा अध्यक्ष वाईबाले दिएको जानकारी अनुसार उच्च माविमा प्राविधि शिक्षालय निर्माण गर्ने र इन्जियनिरङ कलेजको समेत सम्भाव्यता अध्ययन गरिएको हो ।

त्यस्तै पदमपोखरीमा नै सिनेमा हलको निर्माण गर्ने तथा विभिन्न क्षेत्रको विकास गरि हेटौँडाकै बराबरीमा विकास गर्नुपर्नेमा समेत जोड दिइएको छ । पदमपोखरी हेल्थपोष्टमा समेत विशेषज्ञ डाक्टरको व्यवस्था गर्न समेत जोड दिइने मन्त्री ढुङ्गेलले बताएका छन् ।

‘कुख्रेनी पुल नबनाउनेलाई ब्ल्याक लिष्टमा राख्ने चेतावनी’
अनगुमनका क्रममा वडा नम्बर १२ को कार्यालयमा भएको छलफलका क्रममा पदमपोखरी र लामसुरे जोड्ने पुलको विषयमा समेत कुरा उठेपछि मन्त्री ढुङ्गेलले पुल बनाउन ल्याङ–ल्याङ गरिरहेमा ठेकदार कम्पनीलाई ब्याक लिष्टमा राखी कारवाहीको प्रक्रिया अगाडि बढाउने चेतावनी दिएका छन् ।
‘पुल किन बनेन ? कारणहरु के–के छन् ? तिको समाधान गरेर पुल बनेमा ठिकै छ तर यस्तै ढिलासुस्ती भइरहेमा ब्ल्याक लिष्टमा हालेर कारवाही थाल्छौँ’, उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*