सवारी दुर्घटना न्यूनिकरण गर्न हेटौँडामा अन्तरक्रिया
मकवानपुर, १३ असार । बढ्दो सवारी साधन दुर्घटना न्यूनिकरण सम्बन्धमा हेटौँडामा बुधबार अन्तरक्रिया तथा छलफल कार्यक्रम भएको छ । ३ नम्बर प्रदेश प्रहरी कार्यालय मकवानपुरको आयोजनामा सडक सभ्यता अभिवृद्धि तथा सवारी दुर्घटना न्युनिकरण सम्बन्धी सरोकारवाला निकायहरुसँग अन्तरक्रिया गरिएको हो ।
‘हाम्रो अभियान,सुरक्षित र सहज ट्राफिक व्यबस्थापन’ भन्ने मुल नाराका साथ कार्यालयले जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको सभाहलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । अन्तरक्रियाबाट बढ्दो सवारी चापका कारण ट्राफिक व्यबस्थापन गर्नको निम्ति व्यबयायीहरुसँग सहकार्य हुने अपेक्षा गरिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख विरेन्द्र कुमार ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा नारायणी यातायात व्यवसायी संघका उपाध्यक्ष विष्णु विडारी, टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, ४ नम्बर वडाका वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक सन्तोष श्रेष्ठ, ३ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोशन थापा लगायतले मन्तव्य राखेका थिए ।
