एकैछिन खुलेर नारायणगढ-मुग्लिन सडकखण्ड फेरि पनि अवरुद्ध
चितवन, १३ असार (रासस) । नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा आज बिहान ६ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । नारायणगढ-मुग्लिन सडकखण्डका सूचना अधिकारी शिव खनालका अनुसार पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्नेछ ।
पहिरो खसेलगत्तै पन्छाउने काम अघि बढेको भन्दै उनले थप पहिरो नखसेमा बिहान ११ बजेसम्ममा पन्छाउन सकिने बताए । सोही सडकमा मंगलबार बिहान पहिरो खसेपछि ११ घण्टा सवारी आवागमन अवरुद्ध बनेको थियो ।
बेलुका ४ बजे पहिरो पन्छाएपछि रातभर सवारीको लाम र जामका कारण यात्रुले हैरानी बेहोरेका थिए । आजबिहान पुनः पहिरो खसेपछि यात्रु रोकिएका छन् । सरकारले उच्च जोखिममा रहेका भनिएका सडकखण्डमध्ये यो एउटा सडकखण्ड पनि हो । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुई कालोपत्रे भएको भएपनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिमपूर्ण रहेको छ ।
