ठेकेदारको चरम लापरवाही, मकवानपुरगढीको बाटो भताभुङ्ग

तु खबर संवाददाता
२०७५ असार ११, सोमबार १८:०१

मकवानपुर, ११ असार । मकवानपुरको सदरमुकाम हेटौँडादेखि मकवानपुरगढी गाउँपालिकासम्म जाने प्रवेशद्वारको रुपमा रहेको हेटौँडा उपमहानगरपालिका वडा नम्वर ५ मा रहेको रुद्रेश्वर मन्दीर नजिकैको बाटो निकै नै नाजुक अवस्थामा छ । मकवानपुरगढीबाट आउने सर्वसाधारण बजार आईपुग्दा हिलाम्मे सडकमा सवारी साधन सहित पटक पटक पल्टिएकोले आफुहरु बजार आईपुग्दा बाउसे गरेर आएको जस्तै भएको भन्दै गुनासो गर्न थालेका छन् ।

बाटो स्ल्याब गर्न भनेर काम सुरु गरेको ठेकेदार कम्पनीले बिचमा काम अलपत्र छोडेपछि सर्वसाधारणहरु बाटोमा चिप्लिएर लड्ने गरेको र आफुहरुलाई समेत सडकको कारण बाहिर निस्कन समेत सास्ती भएको त्यहाँका स्थानीयहरु बताउँछन् । ठेकेदार कम्पनीको लापरबाहीको कारण बाटो निर्माणमा ढिलाई भएपछि आजभोलि चिटिक्क परेर बजार हिँडेका मकवानपुरगढीका सर्वसाधारण बजार आईपुग्दा नचिनिने अवस्थामा हुन्छन् नै त्यसका साथै लडेर हातगोडा नै भाँचिएला भन्ने डरमा यात्रा गर्न बाध्य समेत भएका छन् ।

त्यसो त बाटो निर्माणको लागि हेटौँडा उपमहानगरपालिकाले ७ लाख बजेट विनियोजन गरेको छ । साथै उपभोक्ता समितिबाट पनि केही रकम उठाईएको छ । तर बाटो निर्माण सम्पन्न गर्नुपर्ने अवधी सकिँदै गर्दा बाटोमा हिलाम्म्य बनाएर छोड्ने बाटो निर्माण समितिको संयोजक बलराम पौडेल र बाटो निर्माणको जिम्मा लिएका ठेकेदार ईन्द्रबहादुर कार्की र रामबहादुर कार्कीलाई आवश्यक खबरदारीको दायरामा ल्याउन सरोकारवाला निकायले अझैं सकेका भने छैनन् । ‘प्रदेशको राजधानीे हेटौँडामा नै रहेको ८९ मिटरकोे बाटो स्ल्याबको काम त समयमानै हुन सकेन भने जिल्लाका अन्य स्थानका बाटोहरुको अवस्था कस्तो होला ?’ स्थानीयहरु गुनासो गर्छन् ।

यस विषयमा तु खबरका पत्रकार गोविन्द न्यौपानेले रुदे्रश्वर टोल विकास संस्थाका अध्यक्ष एवं बाटो निर्माणको समितिका संयोजक बलराम पौडेललाई किन बाटो स्ल्याब गर्न ढिलाई भएको भन्ने प्रश्न गर्दा अब छिट्टै नै बाटो निर्माण हुने बताउँछन् । बैकल्पिक मार्ग नभएकोले बाटो निर्माणको काम सुरु गर्न नमिलेको उनी बताउँछन् । तर पानी परेको बेला आज पनि करिब ८–१० वडा मोटरसाईकलमा सवार सर्वसाधारण लडेको आफैंले प्रत्यक्ष देखेको उनी स्विकार्छन् । यस विषयमा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत भने आफु यस बारे बुझ्ने प्रतिक्रिया दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*