कुख्रेनीको हिमपाईप बगाएपछि स्थानीय आक्रोशित, रबि लामिछानेसँग गुहार माग्दै समाजिक सञ्जालमा विरोध

तु खबर संवाददाता
२०७५ असार ११, सोमबार १७:३१
file photo

–चन्द्र घलान
मकवानपुर, ११ असार ।
हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर ९ लामसुरे र वडा नम्बर १३ पदमपोखरी वनस्पतिलाई जोड्ने पुल समयावधि सकिएको लामो समयसम्म पनि नबने पछि सवारी आवागमनमा समस्या हुनुका साथै यात्रुहरु समेत बिच बाटोमै अलपत्र परेका छन् । बर्षाका कारण उक्त स्थानमा हिमपाईप राखेर बनाएको बाटो समेत बगाएपछि अहिले थप समस्या भएको छ ।

गए राति परेको वर्षाका कारण बढेको खोलाले निर्माणाधिन पुलको नजिकै हिमपाईप राखेर बनाईएको बाटो समेत बगाएपछि सोमबार बिहान केही बेर पदमपोखरी र हेटौँडा जोड्ने बाटो नै बन्द भएको थियो । तर पानीको सतह घटेपछि भने सवारी खोलाबाटै आवागमन गरिरहेका छन् । अहिले हिमपाईपलाई समेत मिलाइएको छ । तर वर्षातको समयमा पटक पटक यो समस्या दोहोरिन थालेपछि भने स्थानीय आजित भएका छन् । ‘हिमपाईप नै बगाए पछि हामी पनि खोलामा भिजेरै हेटौँडामा आयौँ’, पदमपोखरी बेलडाँडा निवासी सुरेन मोक्तानले दुःखेसो पोखे । ‘पुल कहिले बन्ने थाहा छैन, वर्षातको सुरुवातमै यस्तो अवस्था छ झन् वर्षायामको बेला के होला बाटोको हालत ?’ उनले थपे ।

‘रबि लामिछानेलाई गुहार माग्दै पदमपोखरीवासी’

पुल निर्माणमा ढिला हुनुका साथै दैनिक आवागमनमा समेत समस्या परेपछि पदमपोखरीवासीहरु अहिले मुर्मुरिएका छन् । अब पुल निर्माणको लागि ‘सिधा कुरा जनतासँग’ का प्रस्तोता रवि लामिछानेसम्मै कुरा पुराउनुपर्नेमा सामाजिक संजालमा बहस उठेको छ । सोमबार बिहानै हिमपाईप बगेर हेटौँडामा अफिससम्म आउन समेत समस्या परेपछि पदमपोखरी निवासी गुनामान तामाङले फेसबुकमा स्टाटस लेख्दै पुल नबेको भन्दै ठेकेदारप्रति रिस पोखेका छन् । बाटो समयमै नबनाउनेलाई कारवाहीको लागि समेत उनले आवाज उठाएका छन् । उनकै फेसबुक स्टाटसमा कमेन्ट गर्दै संगित दोङले यो कुरालाई रबि लामिछानेसम्म पुराउनुपर्ने बताएका छन् । साथै स्थानीय नै सक्रिए भएर पुल निर्माणका लागि पहल गर्नुपर्ने समेत बताएका छन् ।

वि.सं. २०७३ माघ १२ गते औपचारिक रुपमा पुल निर्माण कार्यको विधिवत सुरुवात गरिएता पनि अहिलेसम्म पुल बनेको छैन । २०७४ असोज २१ गते पुरा हुने गरी निर्माण सुरुवात गरिएको पुल निर्माण विभिन्न कारणले पुरा हुन नसकेको हो । पुल नबनेकै कारणले गर्दा हिमपाईप राखेर बनाइएको बाटोमा कतिपटक मोटरसाईकल अनियन्त्रित भइ पल्टिएको प्रत्यक्षदर्शीहरु बताउँछन् ।

हिमपाईप बगाएपछि पुनः मिलाईदै

किन बनेन पुल ?
पुल निर्माणका विषयमा तु खबरको पटक–पटकको प्रश्नमा हरेक पटक वडा नम्बर १३ का वडाअध्यक्ष मनोज वाईबा, पुल निर्माण सरोकार समितिका संयोजक सोविन थिङ र पुल निर्माणको जिम्मा पाएका मध्येका एक फुर्वा दोर्जे लामाले पुल अब छिट्टै निर्माण हुने दाबी गर्दै आएका छन् । तर कहिलेसम्म पुल बन्छ भन्ने सवालमा उनीहरु सहित जिल्ला समन्वय समिति र उपमहानगरपालिका समेत मौन छ । सम्बन्धित सरोकारवालाले पुल निर्माणमा ढिलाई गर्नेलाई कारवाही समेत गर्ने बताउँदै आए पनि पुल अझै अलपत्र छ । पहिलेको तुलनामा केही पर्खाल उठाउने र रड ठडाउने काम भएता पनि पुल निर्माण सुस्त गतिमा सुचारु छ ।

संयोजिक थिङले तु खबरलाई जानकारी दिए अनुसार प्राविधिक समस्याका कारण पुल निर्माणमा ढिलाई भएको हो । यस अघि १०३ मिटर लम्बाई र ९ मिटर ९० सेन्टीमिटर चौडाईको पुल भनेर नक्साङ्कन गरिए पनि त्यसमा प्राविधिक त्रुटि भएको र अहिले १०३ मिटरको साटो ११० मिटर लम्बाई भएको नयाँ नक्सा बनेको उनले बताए । साथै निर्माणकर्ता लामाले पनि पुल निर्माणका क्रममा प्राविधिक त्रुटि झेल्नुपरेका कारण आफुहरुले काम ढिला शुरु गर्नुपरेको बताउँदै आएका छन् । उनले पुलको नक्सा सच्चिएर आएपछि गएको माघको दोस्रो सातादेखि पुल निर्माणले तिब्रता पाउने बताएका थिए । उनले भने अनुसार नै पुल निर्माणको कामले पहिलेको तुलनामा तिव्रता पाए पनि त्यसले कहिले पूर्णता पाउँछ त्यसको कुनै एकिन समय किटान गर्नसक्ने अवस्था छैन ।

पुल निर्माण गरिँदै

स्विस बिकासको प्राविधिक सहयोगमा नेपाल सरकारको प्रत्यक्ष लगानीमा पुलको निर्माण हुन लागेको हो । ५ करोड ९८ लाखको लागत अनुमान भएपनि टेण्डर प्रकृया अनुसार नागर्जुन शंकर मालिका जेबीले ४ करोड ६३ लाखमा निर्माणको जिम्मा लिएको थियो । १०३ मिटर लम्बाई र ९ मिटर ९० सेन्टीमिटर चौडाइ रहेको पुल २०७४ साल असोज २१ गते सम्पन्न हुने गरी निर्माण हुने सम्झौता भएको भएता पनि संयोजक थिङका अनुसार अहिले यसको लागत मुल्य बढ्नुका साथै लम्बाईमा समेत फेरबदल भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*