माछा ब्लक बनाउँदै गाउँपालिका ,माछाको बीमा हुन कठिन
भानुभक्त आचार्य
मकवानपुर ९ असार । मनहरी गाउँपालिकाले स्थानीय माछापालक किसानलाई माछापालन तालिम प्रदान गरेको छ । शुक्रबार र शनिबार भएको तालिममा स्थानीय ४० जना किसानको सहभागिता रहेको थियो ।
शुभबिहानी मत्स्यपालन व्यवसायिक (ब्लक) समितिको समन्वयमा गाउँपालिकाले किसानलाई माछापालनसम्बन्धी प्राबिधिक तालिम प्रदान गरेको हो । मत्स्य विकास केन्द्र हेटौंडाका अधिकृत प्रसान्त सापकोटा, प्रास अबधेशकुमार सिंह, एमडीआईका कार्यकारी प्रमुख खोपनारायण श्रेष्ठलगायतले तालिममा सहजीकरण गरेका थिए ।
दुईबाली धान फल्ने खेत मासेर पोखरी खनेका मकवानपुरको मनहरी गाउँपालिकाका माछापालक किसानले माछाको बीमा गर्न सकेका छैनन् । सरकारले कृषि बीमा लागू गरेको ५ बर्ष बितिसक्दा पनि किसानले माछाको बीमा गर्न नसकेका हुन् । मत्स्यपालन व्यवसायी संघका केन्द्रीय सदस्य समेत रहेका स्थानीय माछापालक किसान रामहरि बिष्टले माछाको बीमा गर्न निकै कठिन रहेको बताए ।
मनहरी गाउँपालिका– ४ मसिनेमा एक सय भन्दा बढी किसानले माछापालन सुरु गरेपछि गाउँपालिकाले माछा ब्लक बनाउने तयारी गरिरहेको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए । वनजंगलमा कन्दमूल खोजेर जीबिकोपार्जन गर्ने सीमान्तकृत वनकरिया समुदायले पनि धान खेत मासेर माछा पाल्न थालेपछि मसिनेलाई माछा ब्लक बनाउने योजना अघि सारिएको गाउँपालिका अध्यक्ष उप्रेतीले बताए ।
अध्यक्ष उप्रेतीले भने–मनहरीको पहिचान भनेकै माछा र तामा हो । अब स्थानीय युवालाई माछापालन गर्न गाउँपालिकाले सहयोग गर्ने र चुरे क्षेत्रको खहरे नियन्त्रण गर्न बाँस रोप्ने र त्यसबाट तामा उत्पादन गरी निर्यात गर्नुपर्छ ।
७ बर्षदेखि माछापालन सुरु गरेको मसिनेमा अहिलेसम्मा सय भन्दा बढी किसानले धानखेत मासेर माछापोखरी खनेको ब्लकका सचिव हरिकृष्ण बिष्टले बताए । ७ बर्षअघि मनहरी विकास संस्था (एमडीआई) ले रैथाने माछा संकटमा परेको भन्दै संरक्षण गर्न र व्यावसायिक माछापालन गर्न गाउँमा अनुसन्धान केन्द्र स्थापना गरेपछि स्थानीय किसानलाई माछामा लगाव बढाएको हो । माछा पालेर मात्रै भएन, किसानले बढी भन्दा बढी आम्दानी लिन सक्ने वातावरण पनि बनाउनु पर्छ–एमडीआईका कार्यकारी प्रमुख खोपनारायण श्रेष्ठले भने । प्रधानमन्त्री आधुनिक कृषि कार्यक्रम अन्तर्गत मसिनेमा माछा ब्लक स्थापना गरिएको ब्लकका अध्यक्ष सानुकान्छा तितुङले बताए ।
राप्तीखोलामा ३७ प्रजातिका रैथाने माछा फेला परेको एमडीआईले गरेको एक अध्ययनमा देखिएको छ । बिगतमा कति प्रजातिका माछा थिए भन्ने बिषयमा कतै पनि अध्ययन नभएको एमडीआईका कार्यकारी निर्देशक श्रेष्ठले बताए । मनहरी गाउँपालिका–३ ठाडेखोलामा पनि एक सय भन्दा बढी पोखरी खनिएको छ । त्यस्तै सुनाचुरीमा पनि व्यावसायिक माछापालन सुरु भएको छ ।
