खोटाङमा पहिरोले हाइड्रोपावरको कुलो भत्काएपछि ५४१ घर अध्यारो
खोटाङ ७ असार । बर्खा सुरुभएसंगै लगातारको बर्षाको कारण खोटाङ्मा रहेको हाइड्रोपावर बगाँउदा खोटाङका स्थानीय बासिन्दाहरु हाल अन्धकारमा बस्न बाध्य भएका छन् ।
नाखामखोला लघु जलविद्युत् आयोजनाको कुलो गत जेठ ३० गते बेलुकी झरेको पहिरोले बगाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका स्थानीय अन्धकारमा बस्न बाध्य भएका हुन् ।
साविकको पाथेका गाविसस्थित सबै वडामा विस्तार गरिएको ६० किलोवाट क्षमताको विद्युत्का लागि निर्माण गरिएको फोर वे नजिकै पहिरो जाँदा २५ मिटर लम्बाइको कुलो भत्काएको उपभोक्ता समितिले जनाएको छ ।
वैकल्पिक ऊर्जा, स्थानीय तथा तत्कालीन स्थानीय निकायको संयुक्त पहलमा निर्माण सम्पन्न गरी ५४१ घरधुरीले लाभ लिइरहेको हाइड्रोपावरको कुलो भत्कँदा रु १५ लाख बराबरको क्षति भएको छ ।
पहिरोका कारण कुलो भत्केपछि उक्त वडाका सम्पूर्ण विद्यालयमा सञ्चालन गरिएको कम्प्युटर कक्षा, अन्य कार्यालय सञ्चालन, कुटानी पिसानी मिल, सहकारीको कारोबारलगायतको कार्य प्रभावित बनेको निर्माण उपभोक्ता समितिका सचिव शहरमान राईले बताए ।
विद्युत् अवरुद्ध भएपछि बेलुकी अन्धकारमा बस्न बाध्य हुनुका साथै स्थानीयबासिन्दा मोबाइल फोन चार्ज गर्न नपाउँदा सूचना तथा सञ्चारबाट वञ्चित बनेका छन् ।
